तपाईँ सुन्दै हुनुहुन्छः

शाक्यको माग बमोजिम अन्तरिम आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । 

प्राधिकरणको कार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गर्नुभएको रिटमा अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । 

तत्कालीन कार्यकारी निर्देशक शाक्यले आफूलाई हटाउने र घिसिङलाई नियुक्त गर्ने मन्त्रिपरिषद् निर्णय कार्यान्वयन नगर्न, नगराउन र घिसिङलाई कार्यकारी निर्देशकको पदमा काम गर्न नदिन अन्तरिम आदेश जारी गर्न माग गर्नुभएको थियो । 

८ भदौमा मिसिल झिकाउने आदेश दिएको प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज अन्तरिम आदेश जारी नहुने भन्दै कारण देखाऊ आदेश सुनाएको हो ।  

गैर कानुनी रुपमा सरकारले प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाएकाले सो निर्णय बदर गरी आफूलाई यथावत् राख्नुपर्ने माग गर्दै शाक्यले ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button