तपाईँ सुन्दै हुनुहुन्छः

छुट्टा–छुट्टै तीन रिट हेर्दा हेर्दैमा

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल सहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै दायर गरेको रिट हेर्दा हेर्दैमा राखिएको छ । 

सर्वोच्च अदालतका न्यायाधीश द्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले सो मुद्दाको सुनुवाइ नसकिएपछि मङ्गलवारका लागि हेर्दा हेर्दैमा राखेको हो । 

निवेदक पक्षका कानुन व्यवसायी, सरकारी वकिल, नेपाल पक्षका कानुन व्यवसायीले बहस गरे पनि निवेदक नेकपा एमालेका अध्यक्ष ओलीको जवाफ बाँकी रहेपछि मुद्दा हेर्दा हेर्दैमा राखिएको हो । 

बहसका क्रममा निवेदक पक्षका कानुन व्यवसायीहरूले नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको दर्ता गैर कानुनी रहेको जिकिर गर्नुभएको थियो । 

बहसमा विपक्षी तर्फका वरिष्ठ अधिवक्ता शम्भु थापाले माधव नेपालसहित १४ जना विरुद्धको मुद्दाको कुनै औचित्य नभएको तर्क गर्नुभएको थियो ।

यसअघि सर्वोच्चले भदौ २८ गते अन्तरिम आदेश दिने–नदिने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाउने गरी पेशी तोके पनि पछि हेर्न नभ्याइने सूचीमा राखेको थियो । 

नेकपा (एमाले) का अध्यक्ष ओलीले माधवकुमार नेपालसहित १४ सङ्घीय सांसद र लुम्बिनी प्रदेशका २ प्रदेशसभा सदस्यलाई पदमुक्त गर्न, सभामुख अग्नि सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध दायर भएको छुट्टा–छुट्टै तीन वटा रिटमध्ये दुई वटा रिटमा अन्तरिम आदेश दिने–नदिने विषयमा बहस भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button