तपाईँ सुन्दै हुनुहुन्छः

सबै प्रदेशमा प्रदेश प्रहरीको व्यवस्था हुनुपर्छः नेता निधि

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले सातै प्रदेशमा तत्काल प्रदेश प्रहरीको व्यवस्था हुनुपर्ने बताउनुभएको छ । 

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘वर्तमान राजनीतिक अभ्यास र संविधान’ विषयक कार्यक्रममा उहाँले संविधानको सङ्घीय संरचनाअनुसार सबै प्रदेशले प्रदेश प्रहरीको व्यवस्था गर्न पाउनुपर्ने बताउनुभएको हो ।

नेता निधिले सङ्घीयतालाई दिगो र सबल बनाउन केन्द्रीय मानसिकता हटाएर संविधानको अनुसूचीअनुसार प्रदेश र स्थानीय तहले आफ्नो अधिकारको प्रयोग गर्न पाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

काँग्रेसकै नेतृत्वमा जारी भएको संविधानको सफल कार्यान्वयनका लागि काँग्रेसले नै अग्रसरता र स्वामित्व लिनुपर्ने धारणा व्यक्त गर्नुहुँदै उहाँले संविधानको दिगोपनाका लागि आवश्यकताअनुसार परिमार्जन तथा संशोधन गर्दै जानुपर्ने उल्लेख गर्नुभयो । 

पूर्व सभामुख दमननाथ ढुङ्गानाले संविधान दिवसका अवसरमा काँग्रेसले देशभर पार्टी एकाइमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी दिवस मनाउनुपर्ने सुझाव दिँदै स्थानीय स्तरमा प्रचारप्रसार गरिने संविधानका अधिकार र दायित्वसम्बन्धी नागरिक शिक्षाले नै प्रजातन्त्रको जग बलियो हुने बताउनुभयो । 

प्रदेश नं २ का भौतिक तथा पूर्वाधार विकास मन्त्री रामसरोज यादवले संविधानलाई आफूखुसी व्याख्या गर्ने परिपाटीले संविधान कार्यान्वयनमा चुनौती देखिने गरेको उल्लेख गर्दै तीन तहका सरकारबिच बाझिएका अधिकारका सूचीबारे स्पष्टता कायम हुनुपर्ने बताउनुभयो ।


कांग्रेस केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले काँग्रेसकै नेतृत्वमा संविधान जारी भएको बताउँदै यसको कार्यान्वयनका लागि पनि काँग्रेसले नै अग्रसरता लिनुपर्ने विचार व्यक्त गर्नुभयो । 


नेकपा (एमाले) नेतृ विमला विकले संविधान दिवसलाई दलहरूले मेलमिलाप र सहमतिको अवसरमा मनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button