तपाईँ सुन्दै हुनुहुन्छः

‘गरिबीमुक्त भएपछि मात्र समाजवाद पहिल्याउन सकिन्छ’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई मुक्त गरेर मात्र संविधानले निर्दिष्ट गरेको समाजवादको लक्ष्य पहिल्याउन सकिने बताउनुभएको छ । 

संविधानले सरकारी, निजी र सहकारी क्षेत्रको संयुक्त प्रयासबाट आर्थिक समृद्धि हासिल गर्ने नीति लिएको उल्लेख गर्दै ऊर्जा मन्त्री भुसालले देशको अर्थ सामाजिक विकासलाई न्यायका आधारमा वितरण गर्ने नीतिले समाजवादमा पुर्‍याउने बताउनुभयो । 

नेपाल पोल एशोसिएशनको आठौँ वार्षिक साधारण सभा एवं दोस्रो अधिवेशनको उद्घाटन गर्नुहुँदै उहाँले निजी क्षेत्रको भूमिकालाई राज्यले कहीँ पनि न्यूनीकरण नगर्ने स्पष्ट पार्नुभयो । 

राज्यका सबै निकायप्रति जनताको गुनासो रहेको उल्लेख गर्नुहुँदै मन्त्री भुसालले राजनीतिक नेतृत्व, उद्योगी, कर्मचारीप्रति जनता असन्तुष्ट रहेकाले आ–आफ्नो तहबाट जवाफ दिनुपर्ने स्पष्ट गर्नुभयो । 

उहाँले स्यालो ट्युबवेल प्रयोग गर्ने किसानलाई निःशुल्क र डीप ट्युबवेल प्रयोग गर्नेलाई ८० प्रतिशतसम्म विद्युत् छुट दिने निर्णयबाट उत्पादकत्वमा वृद्धि भई व्यापार घाटा न्यूनीकरणमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारी एवं निजी क्षेत्रलाई राज्यले समान व्यवहार गर्नुपर्ने बताउनुभयो । 

महासङ्घका पूर्व उपाध्यक्ष द्वय कुशकुमार जोशी र चण्डीराज ढकालले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने राज्यको नीतिलाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो । 

पोल उत्पादक सङ्घका अध्यक्ष किशोरकुमार श्रेष्ठले विद्युत् प्राधिकरणले उत्पादन गरेका पोल महँगोमा खरिद गर्ने तर निजी क्षेत्रले उत्पादन गरेका पोल प्राधिकरणले नकिन्दा आफूहरूले सञ्चालन गरेका उद्योग बन्द हुने अवस्थामा पुगेको गुनासो गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button