तपाईँ सुन्दै हुनुहुन्छः

वैदेशिक रोजगारीबाट फर्केर कृषि कर्ममा सफल एक उद्यमीको अनुभव

काठमाडौँ । वैदेशिक रोजगारमा रहेको समयमा त्यहाँ सिकेको ज्ञान र प्राप्त अनुभवबाट झापा शिवसतासीका मेदनी दंगाललाई आफ्नै खेतबारी सम्झिदा भविष्यका लागि दिगो कर्म त कृषिमै हुनेछ भन्ने लाग्यो । र, अहिले वैदेशिक रोजगारीबाट फर्किएर उहाँ कृषि उद्यममा व्यस्त हुनुहुन्छ । 

वैदेशिक रोजगारको लामो अनुभव पछि स्वदेश फर्किएर काठमाडौँमा बसोबास गर्दै आउनुभएका दंगाललाई  आफ्नै पुर्ख्यौली गाउँ पुर्‍यायो सुरुको देशव्यापी लकडाउनले । पट्यारलाग्दो लकडाउनमा घरभित्रै बसेर अनुत्पादक रुपमा समय बिताउनु परिरहँदा यो समय नै अब कृषि उद्यममा लाग्ने ठिक समय भएको उहाँलाई लाग्यो । 

वैदेशिक रोजगारमा २० बर्ष रहँदा उहाँले कहिले मजदुर भएर त कहिले मार्केटिङमा काम गर्नुभयो । सिंगापुरमा मजदुर भएर काम गर्नुभयो  भने साउदीमा मार्केटिङको काम ।

स्कुले जीवनमा अब्बल विद्यार्थीका रुपमा चिनिएका दंगाल स्नातकोत्तर सकेपछि वैदेशिक रोजगारमा निस्कनुभएको थियो । अहिले बहुउद्देश्यीय कृषि उद्यमीका रुपमा आफ्नै ठाउँमा परिचय बनाउनुभएको छ । 

उच्च शिक्षा हासिल गर्नुभएको छ र  विदेशमा मार्केटिङको अनुभव पनि लिनुभएको छ तर गाउँ गएर कृषि उद्यममा किन लाग्नुभयो भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ – “कृषि हाम्रा बाबु बाजेदेखि गरिआएको जीवन जिउने आधारभूत कर्म हो । अब यसलाई उद्यमका रुपमा गर्दा राम्रो व्यावसायिक लाभ प्राप्त गर्न सकिने हुन्छ ।  फेरि यसको थुप्रै अनुभव हामीलाई बाल्यकालदेखि नै छ । हामीले गाई भैँसी दुहेका छौँ, बाख्रा पाठा खेलाका र चराएका छौँ । घाँस काटेका छौँ । यो हाम्रा लागि नौलो काम होइन । सरकारले पनि कृषि क्षेत्रमा प्रोत्साहन बढाउँदै लगेका छ । त्यसैले अब व्यावसायिक कृषि उद्यम उत्तम हुन्छ भनेर यतातिर हात हालेको हुँ ।”

आफ्नो दुई बिगाहा र बाँकी भाडामा लिएर तीन बिगाहा जमिनमा दंगालले अहिले १ करोडको लगानी गरिसक्नुभएको छ । ६–७ जनाले नियमित रोजगार पाएको दंगालको कृषि फार्ममा अहिले १५० जति टर्की,  ५ सय हाँस लगायत कडकनाथ, गिरीराज, खरायोदेखि गाई, पाडा पाडी र बाख्रा छन् । रुख बिरुवा अन्न र बाँस खेती समेतको काम सुरु गर्नुभएका उहाँको मुख्य ध्येय छ अर्ग्यानिक उत्पादन गर्ने । तिनै पशुपंक्षीको मलबाट तिनैका लागि घाँस र अन्न उत्पादनमा लाग्नुभएको छ उहाँ । थप १० बिगाहा कृषि फार्म सञ्चालन गर्ने दंगालको योजना छ । 

कृषिमा करोडौँ लगानी गरेर व्यावसायिक सफलता प्राप्त गर्ने आधारहरू केके छन् भन्ने जिज्ञासामा दंगाल भन्नुहुन्छ, “स्थानीय उत्पादनको माग जति पनि छ । नजिकै राजमार्गको सहज सुविधा भएकाले देशभरका ठुला बजारमा पहुँच छ ।” भन्नुहुन्छ, अहिले नै हाम्रो उत्पादन बेच्नलाई बजार खोज्नु परेको छैन । टर्की, लोकल कुखुरा आदि यहीँ बिक्री र खपत् भइराखेको छ । त्यसैले यो कृषि फर्ममै क्याटरिङ समेत सञ्चालन गर्ने तरखरमा छु । ” 

आधुनिक कृषि फार्म र अर्ग्यानिक उत्पादनबाट राम्रो व्यावसायिक लाभ गर्न सकिने कुरामा विश्वस्त रहनुभएका दंगाल कृषिका सम्भावनाहरू बारे भन्नुहुन्छ, “आफ्नो खेतीको भौगोलिक अवस्था, बजारको माग र पहुँच अनुसार मूल्यवान् रुख–बिरुवा, फलफूल, तरकारी देखि लिएर पशुपालनसम्म अनेक गर्न सकिन्छ । कृषिमा सरकारी प्रोत्साहन पनि बढ्दै गएकाले कृषिमै स्वरोजगार भई स्वदेशमै राम्रै सफलता प्राप्त गर्न सकिने वातावरण बन्दै गएको मेरो अनुभव छ । तर त्यसका लागि पहिले खोजी नीति, अध्ययन र आधारभूत रुपमा भए पनि जानकारी लिएर समर्पित भएर लाग्नुपर्छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button