तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्ज कारागारका २४ कैदीबन्दीले पाए सजाय मिनाहा

वीरगन्ज । संविधान दिवसको अवसरमा आज बीरगंज कारागारमा रहेका २ महिला सहित २४ जना कैदीबन्दिहरुको सजाय मिनाहा भएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस अनुसार संविधान दिवसको अवसर पारी आज राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका ५ सय २३जना कैदीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेकोमा बीरगंज कारागारका २४ जना कैदीको सजाय मिनाहा भएको बीरगंज कारागारका प्रमुख कृष्ण गैरेले बताउनुभयो । 

वीरगन्ज कारागारबाट बाँकी सजाय मिनाहा भएर आज रिहा भएका कैदीबन्दीहरुमा कर्तव्य ज्यान मुद्दाका ७ जना, सवारी ज्यान मुद्दाका ५ जना, चोरी मुद्दाका ४ जना, ज्यान मास्ने उद्योगका २ जना, डाँका मुद्दाका २ जना, ज्यान मुद्दाका १ जना, बहुविवाहको १ जना, नकवजनी चोरीको २ जना गरी जम्मा २४ जनाको सजाय माफी भई आज जेल मुक्त भएको कारागार प्रमुख गैरेले बताउनुभयो । 

कैद कट्टी भएर रिहा हुनेहरूलाई कारागारले आज एक कार्यक्रमका बीच पारिवारिक पुनर्मिलन र सामाजिकीकरणको प्रक्रियामा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दै बिदाइ गरिएको बीरगंज कारागारका आन्तरिक प्रशासन प्रमुख फिरोज अन्सारीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button