तपाईँ सुन्दै हुनुहुन्छः

संविधान कार्यान्वयनका लागि सङ्घीय संसद् सक्रिय : उपाध्यक्ष दाहाल

काठमाडौँ।राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले संविधान कार्यान्वयनको महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्न सङ्घीय संसद् सदैव सक्रिय नै रहने बताउनुभएको छ । संविधान दिवस–२०७८ को अवसरमा शुभकामना दिनुहुँदै उहाँले ऐतिहासिक जनक्रान्ति, जनआन्दोलन र जनसङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गरिएको विशिष्ट दिनको रुपमा स्मरण गर्नुभएको छ ।

उपाध्यक्ष दाहालले भन्नुभएको छ, “नेपालीलाई एउटै सूत्रमा एकताबद्ध गर्ने देशको मूल कानुन संविधान जारी गरिएको यस दिनले सबैले संविधान कार्यान्वयन र यसको पूर्ण पालनाका लागि प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएकी छु ।” ऐतिहासिक जनसङ्घर्षबाट प्राप्त सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समावेशी, समानुपातिक प्रणालीजस्ता महत्त्वपूर्ण उपलब्धिलाई संविधानमा लिपिबद्ध गरिएको उपाध्यक्ष दाहालले स्मरण गर्नुभएको छ ।

नागरिकको मौलिक हक, अधिकार र स्वतन्त्रताको पनि संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै उपाध्यक्षले संविधान जारी भएपछि सङ्घीय संसद्ले मौलिक हकलगायत अन्य थुप्रै ऐन कानुन निर्माण गरी संविधान कार्यान्वयनमा विशेष जिम्मेवारी पूरा गर्दै आएको बताउनुभएको छ । संविधानको कार्यान्वयनमा भएका पहलकदमीहरूको समीक्षा गर्दै इमानदारितापूर्वक यसको पालना गर्न हामी सबैलाई प्रेरणा प्राप्त हुने उहाँको सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button