अछाममा तीन दिनसम्म संविधान दिवस मनाइँदै
अछाम । अछाममा आजदेखि तीन दिनसम्म सातौँ संविधान दिवस मनाइने भएको छ ।
नेपालमा संविधान जारी भएको छ वर्ष पुगेर सात वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेसँगै आजदेखि पर्सि सोमबारसम्म तीन दिन संविधान दिवस मनाउन लागिएको हो ।
२०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयता सहितको ‘नेपालको संविधान’ जारी भएको थियो । त्यही दिनलाई राष्ट्रिय पर्वका रूपमा मानेर हरेक वर्ष संविधान दिवस तीन दिनसम्म देशभर हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।
अछाममा जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर कुँवरको संयोजक रहने गरी मूल समारोह समिति गठन गरिएको छ ।
मूल समारोह समिति गठन गरी ३ दिनसम्म संविधान दिवस मनाउने निर्णय गरिएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले बताउनुभयो ।
विभिन्न सार्वजनिक स्थानको सरसफाइ, कार्यालय परिसर सरसफाइ, प्रभात फेरी, दीपावली लगायतका कार्य गरी दिवस मनाइने प्रमुख जिल्ला अधिकारी मल्लले बताउनुभयो ।
संविधान दिवसका दिन नेपालको राष्ट्रिय झण्डा आआफ्ना घरमा सम्मानका साथ राख्न अनुरोध गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्