तपाईँ सुन्दै हुनुहुन्छः

जगदम्बा स्टिलमा भएको तोडफोडबारे छानबिन समितिले प्रतिवेदन बुझायो

बारा । बाराको सिमरास्थित जगदम्बा स्टिलमा भएको तोडफोडबारे गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा  गठन गरिएको छानबिन समितिले प्रतिवेदन बुझाएको छ । 

भदौ २१ मा मन्त्रालयका सहसचिव टेकराज निरौलाको संयोजकत्वमा गठित छानबिन समितिले प्रतिवेदन गृहमन्त्री खाँणलाई बुझाएको हो । 

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा ग्यास चुहावटको सूचना प्राप्त भई इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले तोडफोड नियन्त्रणको प्रयास गर्दा गर्दै पनि उद्योगमा स्थानीयवासीको भीडले तोडफोड गरेको प्रतिवेदनमा उल्लेख रहेको जनाइएको छ ।

छानबिन समितिले सरकारको तर्फबाट तोडफोडमा संलग्नको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न र औद्योगिक सुरक्षाको व्यवस्था प्रभावकारी बनाउन सुझाव दिएको छ । 

समितिले उद्योग सञ्चालन गर्दा औद्योगिक सुरक्षा मापदण्डको पालना गर्न, उद्योगबाट सृजना हुने प्रदूषण नियन्त्रण गर्न र उद्योगमा कामदार तथा कर्मचारी भर्ना गर्दा योग्यता पुगेका स्थानीय वासीलाई प्राथमिकता दिन पनि सुझाव दिएको छ । 

प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले प्राप्त सुझावका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी कार्यान्वयन गर्न मन्त्रालयको तर्फबाट पहल गरिने बताउनुभयो । 

जगदम्बा स्टिल प्रालिमा भदौ ११ गते एमोनिया ग्यास प्लान्टको पाइप लाइनबाट ग्यास चुहिएर बाहिर फैलिँदा स्थानीयवासी तोडफोडमा उत्रिएको पाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button