पोखराको छोरेपाटनमा जमिन भासिदा दुई घर उच्च जोखिममा

पोखरा । पोखराको छोरेपाटनस्थित शितलचौतारी नजिकै जमिन भासिएको छ ।
लगातारको वर्षाका कारण जमिन भासिएको हो । जमिन भासिदा चौतारी नजिकै रहेका दुई घर जोखिममा परेको वडा अध्यक्ष तीर्थ राज अधिकारीले बताउनुभयो ।
बिहीबार राति साढे १० बजेको समयमा स्थानीय विमला बोगटी र डिलमाया गुरुङको घर अगाडि नै भासिएको हो ।
सिद्धार्थ राजमार्ग सडकदेखि १५ मिटर पर १२ वर्ग मिटर जति जमिन भासिँदा दुई घर उच्च जोखिममा परेका छन् ।
सोलार पोलसहितको जमिन एक मिटर बढी भासिएको छ भने घरको पेटीसमेत भत्किएको वडा अध्यक्ष अधिकारीले बताउनुभयो ।
जमिन भासिएको नजिकै अस्थायी प्रहरी पोष्टमा ड्युटी खटिएका प्रहरीले जमिन भासिएको देखेपछि घरधनीलाई सुरक्षित रुपमा रहन आग्रह गरिएको छोरेपाटन प्रहरी चौकीका प्रहरी नायव निरीक्षक महेन्द्र पौडेलले बताउनुभयो ।
बाटोको उत्तरतर्फ दामोदर कुनामा वर्षाको समयमा पानी जम्मा भएर ताल बन्ने र उक्त पानीको निकास नहुँदा भित्रभित्रै सोसेर जमिन कमजोर बनाएको छ ।

यसै वर्ष पनि वर्षामा दुई पटकसम्म पानी जमेर ताल बनेको थियो । पानी नसुकुन्जेल दुई परिवार विस्थापित नै हुनुपर्ने बाध्यता छ ।
वर्षौँदेखिको यो समस्या समाधान भएको छैन । वडा अध्यक्ष अधिकारीले भन्नुभयो स्थानीय जनप्रतिनिधि आएसँगै पहिलो वर्ष २०७४ मै दामोदरकुनाबाट पानीलाई फुस्रे खोलामा पुग्ने गरी निकास लगिएको थियो ।
घर अगाडि नै खानेपानीको पाइप बिछ्याउँदा पनि हेलचक्र्याइँ भएको घरधनी बाला गुरुङको आरोप रहेको छ ।
यसअघि पोखरा महेन्द्रपुल, नदीपुर, लेकसाइड, लामाचौर, मालेपाटन लगायतका क्षेत्र पनि भासिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्