तपाईँ सुन्दै हुनुहुन्छः

मिथिलामामा धूमधामका साथ विश्वकर्मा पूजा हुँदै

जनकपुरधाम  । मिथिलासहित तराई मधेसका जिल्लाहरूमा निर्माणको देवताको रुपमा रहेको बाबा विश्वकर्माको पूजा अराधना गरेर भव्य रुपमा मनाइँदैछ ।  

बाबा विश्वकर्माको पूजाको चहलपहल बिहानदेखि नै मिथिलाका प्राचीन राजधानी जनकपुरधामसहित अधिकांश तराई मधेसका जिल्लाहरूमा देखिएको छ । 

बिहानदेखि नै कलकारखाना, उद्योग, निर्माण कम्पनी, सुनचाँदी व्यवसायीको पसल भएको क्षेत्रमा विशेष चहलपहल तथा पूजापाठको आयोजना गरिएको छ । 

मिथिलामा बाबा विश्वकर्माको माटोको प्रतिमा स्थापना गरेर विशेष पूजापाठ गर्ने चलन रहेको छ । जनकपुरधामको बसपार्क, सुन बजारमा विशेष धूमधामका साथ बाबा विश्वकर्माको पूजाको आयोजना गरिएको छ । 

यसका साथै निर्माणसँग सरोकार भएका निर्माण कम्पनीहरूमा विशेष धूमधामसँग विश्वकर्मा पूजा आयोजना गरिएको छ । 

स्थानीय प्रशासनले लगाउँदै आएको निषेधाज्ञा आजदेखि हटाएका कारण धनुषाको बजार क्षेत्रमा विशेष चहलपहल नै देखिएको छ । 

खास गरेर विकास निर्माणसँग सरोकार भएको कम्पनीहरूमा पनि विशेष भिडभाड रहेको छ । स्थानीयहरूले आज बिहानदेखि नै आ–आफ्नो मेसिन, कलकारखाना, औजार, सवारी साधनलाई धोई पखाली पूजापाठ गरेका छन् । 

आजका दिन मेसिन तथा कलकारखाना बन्द रहने गर्दछन् । यस दिन निर्माणको क्षेत्रमा काम गर्ने कर्मचारी तथा मजदुरलाई बिदा दिने तथा थप सुविधा प्रदान गर्ने चलन रहेको छ । आजको दिन कतिपय ठाउँमा सांस्कृतिक कार्यक्रमको आयोजना हुने गरेको छ ।

धनुषाको बसपार्क, नक्टाझिझमा रहेको बाबा विश्वकर्माको पूजा अराधना गर्नेहरूको बिहानदेखि नै भिड रहेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button