तपाईँ सुन्दै हुनुहुन्छः

निर्माण व्यवसायमा धेरै श्रमिक ठगिएको गुनासो छ : अर्थमन्त्री शर्मा

file photo

ललितपुर । अर्थमन्त्री जनार्दन शर्माले निर्माण व्यवसाय क्षेत्रमा श्रमिक ठगिने गुनासो बढ्दै गएकाले त्यसप्रति ध्यान दिन आग्रह गर्नुभएको छ । 

नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठनको १२औँ साधारण सभा एवं पाँचौँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले श्रमिकलाई काममा लगाएपछि उनीहरूले पाउने उचित ज्याला अनिवार्य रुपमा दिन निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको हो ।  

उहाँले भन्नुभयो, “असल कामदार बिनाको काम सम्पन्न गर्न निकै चुनौती हुने भएकाले तपाईँहरू उहाँहरूको सम्मान गर्दै अघि बढ्नुपर्ने र यस क्षेत्रको समस्या समाधानका लागि निर्माण व्यवसायीको आचारसंहिता निर्माण गर्न जरुरी छ ।” 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले हरेक व्यवसायीले आफूले जिम्मा लिएको काम समयमै गुणस्तरीयताका साथ सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै यसले मुलुकमा समृद्धि हासिल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “तपाई व्यवसायीले गरेका नराम्रा कामको प्रभाव कुनै पनि पार्टीले भोग्नु नपरोस् भन्ने हामी चाहन्छौँ ।”

नेकपा (माओवादी केन्द्र) ललितपुरका जिल्ला इन्चार्ज हरि दाहाल र केन्द्रिय सदस्य गङ्गा कार्कीले यस व्यवसायलाई सम्मानित पेसाका रुपमा विकास गर्नुपर्ने बताउँदै यसमा देखिएका कमीकमजोरी सच्याएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठनका अध्यक्ष हरि रावलले मुलुक निर्माणको अभियानमा कोही कतैबाट केही सानातिना गल्ती भेट्दि सबैले आलोचना खेप्नु परिरहेकाले त्यसतर्फ ध्यान दिन सुझाव दिनुभयो । 

नेपाल इन्जिनियरिङ एसोसिएसनका महासचिव छवि पोखरेलले निर्माण व्यवसाय फस्टाउनका लागि सम्बन्धित सबै पक्ष सचेत हुनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । 

नेपाल  निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले व्यवसायीभित्र रहेका त्रुटि एक जुट भएर सच्याउन अनुरोध गर्नुभयो । सो सङ्गठनका अध्यक्ष यक्षध्वज कार्कीले निर्माण व्यवसायीका हितमा ऐन संशोधन भए मात्रै आफूहरूले न्याय पाउने बताउनुभयो । 

नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घका अध्यक्ष हुमनाथ कोइरालाले निर्माण व्यवसायमा लो बिडिङ र क्रेडिट लाइनको सबैभन्दा ठूलो समस्या रहेकाले यसको समाधान गर्न सुझाव दिनुभयो । 

सङ्गठनका संस्थापक अध्यक्ष शिवप्रसाद भट्टराईले २०६४ सालमा गठन भएको सो संस्थाले व्यवसायीमा परेका समस्या समाधान गर्न अब आउने नेतृत्व चुस्त र दुरुस्त हुनुपर्ने बताउनुभयो । 

सङ्गठनका अध्यक्ष शिवप्रसाद चौलागाईंले यो व्यवसायलाई थप मर्यादित बनाउँदै लैजानुपर्ने उल्लेख गर्नुभयो  ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button