विकास निर्माणको खबरदारी गर्न मुख्यमन्त्रीको आह्वान

वीरगन्ज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो क्षेत्रमा भई रहेका विकास निर्माणका काम कसरी भई रहेका छन्, त्यसको अवलोकन र खबरदारी गर्ने दायित्व सर्वसाधारण जनताको समेत भएको बताउनुभयो ।
उहाँले विकास निर्माणका कार्यहरूमा लापरबाही भएको गुणस्तरहीन भएको, गुनासो आई रहेको बताउँदै यसमा जनताले समेत खबरदारी गरेमा निर्माण कार्य गुणस्तरीय हुने दाबी गर्नुभयो ।
मुख्यमन्त्री राउतले आज वीरगन्ज कलैया सडक खण्डको प्रतिमा चोक स्थित मर्मत गरिएको सडकको स्थलगत निरीक्षण गर्नुका साथै लक्ष्मणवा, भेडिहारी क्षेत्रमा भएको सडक, नाला निर्माण कार्यको समेत अवलोकन गर्नु भएको थियो ।

अवलोकन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सीमित बजेटका बाबजुद पनि जनताका असीमित चाहनालाई पुरा गर्ने बाटोमा प्रदेश सरकार अगाडि बढ्दै गएको दाबी गर्नुभयो ।
वीरगन्ज कलैया सडक खण्डको प्रतिमा चोक स्थित हुलाकी सडक खण्डमा बाटो बिग्रिएर स्थानीय बासिन्दा तथा वीरगन्ज कलैया आवतजावत गर्ने सवारी साधन तथा सर्वसाधारणले लामो समय देखि सास्ती भोग्दै आएको अवस्थामा मुख्यमन्त्रीको पहलमा सडक मर्मत गरिएको थियो ।
सो अवसरमा जसपाका केन्द्रिय सदस्य वीरेन्द्र यादव, जिल्ला अध्यक्ष रामनरेश यादव, रेडियो वीरगन्ज तथा टिभी वीरगन्जका कार्यकारी अध्यक्ष ध्रुव साह, जसपा नेता रमेश यादव, ईश्वर यादव, मौलाना नुरुल होदा, सलाउद्दिन अहमद, सडक विभागका दिपक मिश्रा लगायतको सहभागिता रहेको मुख्यमन्त्रीका स्वकीय सचिव दिपक यादवले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्