बाल गृहमा रहेका बालबालिकाहरूबिच वक्तृत्वकला प्रतियोगिता

विराटनगर । प्रदेश १ का बाल गृहमा रहेका बालबालिकाहरूबिच प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ ।
सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा ‘कोरोना संक्रमण ः बालबालिकाको भोगाई र शिक्षामा असर’ विषयक प्रतियोगितामा १२ वटा बालगृहका बालबालिकाको सहभागिता थियो ।
प्रतियोगितामा सिविन नेपाल विराटनगरकी विनिका शर्मा प्रथम भएकी छन् । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरिन । प्रतियोगितामा महिला विकास तथा बालबालिका चेतना केन्द्र (नमूना बालगृह) उर्लाबारीकी आस्था परियार द्वितीय, एसओएस बालग्राम इटहरीकी पुष्पा यादव तृतीय र तारा नमस्ते बालग्राम बिर्तामोडकी भावना चौहान सान्त्वना भएका थिए ।
वक्तृत्वकला प्रतियोगिताका द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार प्रदान गरिएको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताउनुभयो । उहाँका अनुसार सहभागीहरूबिच भदौ २७ गते अनलाइन मार्फत प्रतियोगिता गरिएको थियो ।
प्रतियोगिताका विजेताहरूलाई सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ, निमित्त सचिव फणीन्द्र खत्री लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रममा मन्त्री साम्सोहाङले बालबालिकाको भविष्यलाई अहिले नै ध्यान दिएर योजना बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले बालबालिका भविष्यको नभएर अहिलेका कर्णधार भएको बताउनुभयो ।
कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव फणीन्द्र खत्री, पत्रकार महासङ्घ प्रदेश १ का अध्यक्ष लीलाबल्लभ घिमिरे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैबिच सामाजिक विकास मन्त्रालयले प्रदेश १ को पहिलो बालमैत्री नगर भद्रपुरलाई विशेष सम्मान गरेको थियो । भद्रपुर नगरपालिकालाई गत वर्षको पुस ७ गते बालमैत्री नगर घोषणा गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्