असोजदेखि अन्नपूर्ण बेसक्याम्पका होटल खोल्ने तयारी

पोखरा । कोरोनाको कारण लामो समयदेखि ठप्प विश्वकै चर्चित पदमार्ग अन्नपूर्ण बेसक्याम्प (एबिसी) असोज पहिलो सातादेखि सञ्चालनमा आउने भएको छ । असोज १० गतेदेखि अन्नपूर्ण क्षेत्रका सबै होटलहरु खुला हुने छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङले बताउनु भयो । उहाँले भन्नु भयो ‘अहिले होटलमा काम गर्ने मजदुरहरूलाई बोलाउने काम भइरहेको छ उनीहरू आएर केही समय आइसोलेसन बस्ने छन् त्यस पछि हामी हाम्रो होटलहरु सञ्चालन गर्ने तयारी गरेको छौ ।
यो क्षेत्रमा सञ्चालनमा रहेका ६२ ओटा होटलहरुमा काम गर्ने करिब २ सय मजदुरहरूले अझै सम्म पनि खोप पाउन सकेका छैनन् हामीले स्वास्थ्य मापदण्ड पुरा गरेर व्यवसाय सञ्चालन गर्ने निर्णय गरेका छौ ।’’ हामीले प्रमुख जिल्ला अधिकारीलाई पर्यटन मजदुरलाई खोपको व्यवस्था गर्न अनुरोध समेत गरेका छौ अन्य क्षेत्र चलायमान हुँदा देशको प्रमुख अर्थतन्त्र धान्ने पर्यटन क्षेत्रमा काम गर्ने मजदुरलाई बेवास्ता भएको बताउनुभयो ।
दोस्रो चरणको लकडाउनपछि ठप्प रहेका होटलहरु असोजदेखि खुल्ने छन् असोज ५ देखि यो क्षेत्रका होटलहरु पाहुना राख्ने गरी खुल्ने छन् । कोभिड १९ सङ्क्रमणको दर पनि कम भई राखेको छ, धेरैले भ्याक्सिन पनि लगाइसकेको अवस्थामा हामी होटल खोल्ने निर्णयमा पुगेका हौँ, गुरुङले भन्नुभयो ।
असोज, कात्तिक मौसम खुल्ने र हिमाल हेर्ने मौसम पनि हो । तत्कालै विदेशी पर्यटक आउने सम्भावना कम भए पनि नेपालीहरूको बिदाको समय पनि यही बेला पर्ने भएकाले हामीले होटलहरु सञ्चालन गर्न लागेका छौ । अरू बेला पर्यटक ओइरिन्थे। यद्यपि, कोभिड–१९ महामारीपछि दुई वर्षदेखि यो क्षेत्रका होटल शून्य प्राय छन् । सचिव गुरुङले सुरक्षित तरिकाले एबिसी घुम्न आउन सकिने बताउनुभयो ।
सरकारी अनुमतिपछि अन्य क्षेत्रहरू खुली सक्दा पनि एबिसी क्षेत्र खुल्न ढिला भएकोमा उहाँले माफी समेत माग्नु भएको छ । अन्नपूर्ण बेसक्याम घुम्न आउने पर्यटकहरूले आफ्नो स्वास्थ्य सुरक्षा आफै गर्नु पर्ने गुरुङले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्