आपराधिक गिरोहका नाइके फुलहसन अन्सारी पक्राउ

बीरगंज । पर्सा बारालगायत नेपाल भारत सीमावर्ती क्षेत्रमा आतङ्क मच्चाउँदै आएको अपराधी गिरोहका नाइके फुलहसन अन्सारी उर्फ विवेक सिंहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
बीरगंजको बिर्ता बजार, घण्टाघरस्थित मिना बजार लगायतका स्थानमा बम विफोष्ट गरी उद्योग व्यवसायी तथा सर्वसाधारणबाट चन्दा असुली गर्ने आपराधिक गिरोहमा संलग्न फरार अभियुक्त फुलहसन अन्सारीलाई आज बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो ।
अभियुक्त सहितको गिरोहले २०७६ साउन २४ गते वीरगंजको बिर्ता बजार, २८ गते घण्टाघर नजिकैको मिना बजारमा बम विस्फोट गराएका थिए ।
प्रहरीले बम विस्फोट तथा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा वीरगन्ज महानगरपालिका वडा नम्बर २४ बस्ने इनुस अन्सारी, जौवाद अन्सारी, सद्दाम अन्सारी लाई पक्राउ गरी निजहरू उपर विस्फोटक पदार्थ खरखजाना तथा सङ्गठित अपराध अन्तरगतको मुद्दामा पर्सा जिल्ला अदालतले २ बर्ष ६ महिना कैद र २५ हजार जरिवानाको फैसला भई निजहरू बीरगंज कारागारमा कैद सजाय भुक्तान गरी रहेका छन् भने आपराधिक गिरोहका मुख्य योजनाकार फुलहसन अन्सारी घटना पश्चात् फरार भएको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।
फरार भएका अभियुक्त अन्सारी भारतको मुजफ्फरपुरमा आफ्नो नाम र पहिचान ढाटेर अङ्कित पटेलको नामबाट भारतीय आधार कार्ड बनाई उतै बस्दै आएको अवस्थामा फेरि वीरगंजका उद्योगी तथा व्यापारीहरूलाई फोनमार्फत धम्की दिई रकम असुली गर्ने कार्य सुरु गरेको समेत अनुसन्धानको क्रममा खुलेको छ ।
अभियुक्त अन्सारी उर्फ विवेक सिंहले २०६५ पुस ७ गते वीरगन्ज महानगरपालिका वडा नम्बर १३ बस्ने राजेश क्याललाई गोली हानी हत्या गरेको अभियोगमा हतियारसहित पक्राउ गरिएको र अदालतबाट निजउपर सर्वस्वसहित जन्मकैद ठहर भई कैद भुक्तान गरिरहेको अवस्थामा २०७४ असोज ८ गते विजयादशमीको अवसरमा ५६ प्रतिशत बाँकी कैद मिनाहा भई वीरगन्ज कारागारबाट छुटेका थिए ।
अभियुक्त अन्सारी हाल वीरगन्ज महानगरपालिका वडा नम्बर २० अपोनीको विभिन्न अपराधमा संलग्न विदेशी साहको समूहमा आबद्ध भई दर्जनौँ आपराधिक घटना घटाएको अनुसन्धानको क्रममा खुलेको हुँदा निजको थप अपराधमा समेत संलग्नता देखिएको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।
अभियुक्तलाई विस्फोटक पदार्थ खरखजाना सम्बन्धी कसुर तथा सङ्गठित अपराध अभियोगमा कारबाही अगाडी बढाइएको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।
चाडपर्व भित्रिने क्रमसँगै बीरगंज लगायतका सीमावर्ती बजारहरूमा अपराधीहरूको चलखेल बढ्न थाले लगतै पर्सा प्रहरीले उच्च निगरानी राख्दा अन्सारी पक्राउ परेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्