लोकसेवा आयोग विधेयक-२०७८ बहुमतले पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले लोकसेवा आयोग विधेयक २०७८ लाई बहुमतले पारित गरेको छ ।
बैठकमा एमालेका सांसदहरूका अवरोधकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पेस गर्नुभएको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधायन व्यवस्थापन समितिको प्रतिबेनसहितको लोकसेवा आयोग विधेयक २०७८ लाई बैठकले बहुमतले पारित गरेको हो ।
यसैगरी त्यसअघि बैठकमा एमालेको अवरोधका बीच विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङको तर्फबाट समितिका सदस्य ठगेन्द्रप्रकाश पुरीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोकसेवा आयोग विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्नुभएको थियो ।
राष्ट्रियसभाको बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले एमालेका सांसद भैरवसुन्दर श्रेष्ठलाई आफ्नो भनाइ राख्न समय उपलब्ध गराउनुभयो ।
सांसद श्रेष्ठले दलीय आधारमा निर्वाचित एमालेका १४ सांसदलाई दलको निर्देशन नमान्दा आफ्नो दलले गरेको कारबाहीको सिफारिसलाई सभामुखले कार्यान्वयन नगर्दा समस्या उत्पन्न भएको बताउनुभयो ।
त्यसपछि अध्यक्ष तिमल्सिनाले एमालेका सांसदहरूलाई अवरोध नगरी बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्दा समेत एमाले सांसदहरुले उभिएर विरोध जनाएपछि अध्यक्ष तिमल्सिनाले १५ मिनेटपछि बस्ने गरी पहिलो बैठक स्थगित गर्नुभएको थियो ।
त्यसपछि बसेको दोस्रो बैठकले अवरोधका बीच लोकसेवा आयोग विधेयक २०७८ लाई बहुमतले पारित गरेको थियो ।
राष्ट्रियसभाको दोस्रो बैठक पनि सुरु हुनासाथ एमालेका सांसद कोमल वलीले पार्टीको निर्देशन नमान्ने १४ जना सांसदलाई पार्टीले कारबाही गरेको भए पनि सभामुखले पदमुक्त नगरेको भन्दै बिरोध जनाउनुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक भदौ ३० गते बिहान ११ः०० बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्