प्रधानमन्त्रीद्वारा राणाप्रति श्रद्धाञ्जली

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले गए राति निधन हुनुभएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्यसचिव एवं पूर्व राजदूत रुक्मशम्शेर राणाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले बत्तीसपुतलीस्थित स्व राणाको निवास पुगेर उहाँको पार्थिव शरीरमा माल्यार्पण गरी पार्टीको चारतारे झण्डा ओडाएर श्रद्धा सुमन व्यक्त गर्नुभयो । राणाको गए राति ८५ वर्षको उमेरमा निधन भएको उहाँका ज्वाइँ अनिल केशरी शाहले जानकारी दिनुभयो । उहाँको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने उहाँले बताउनुभयो ।
राणालाई श्रद्धाञ्जली दिन काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू प्रकाशमान सिंह, शेखर कोइराला, डा मीनेन्द्र रिजाल, डा प्रकाश शरण महत, उदय शमशेर राणालगायत उहाँको निवासमा पुग्नुभएको थियो । राणा मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो । मिर्गौला प्रत्यारोपणपछि उहाँ नियमित रूपमा डायलिसिस गर्दै आउनुभएको थियो । गए राति एक्कासि स्वास्थ्यमा खराबी आएपछि घरमै चिकित्सक र एम्बुलेन्स बोलाइए पनि अस्पताल लैजान नपाउँदै राणाको निधन भएको उहाँका ज्वाइँ शाहले बताउनुभयो । स्व राणाका एक श्रीमती र एक छोरी हुनुहुन्छ ।
राणाले राखेपको दुई पटक सदस्यसचिवका रूपमा भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ पहिलो पटक विसं २०५० देखि २०५१ सम्म तथा दोस्रो पटक विसं २०५४ देखि २०५५ सम्म राखेपको सदस्यसचिव रहनुभएको थियो । राणा विसं २०५९ मा नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षसमेत बन्नुभएको थियो । एनओसीले पछिल्लो समय राणालाई सम्मानस्वरुप मानार्थ अध्यक्ष बनाएको थियो ।
राणाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यवाहक अध्यक्षका रूपमा समेत भूमिका निर्वाह गर्नुभएको थियो भने नेपाल तेक्वान्दो सङ्घ र नेपाल एथलेटिक्स सङ्घको समेत अध्यक्ष रहनुभएको थियो । काँग्रेसका संस्थापक नेता सुवर्णशम्शेर राणाका कान्छा छोरा रहनुभएका राणा कांग्रेस नेतृत्वको सरकारको पालामा सन् २००९ देखि सन् २०११ सम्म भारतका लागि नेपाली राजदूतसमेत रहनुभएको थियो । राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशकसमेत हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्