तपाईँ सुन्दै हुनुहुन्छः

गाउँ गाउँ पुगेर बङ्गुरपालनको व्यावसायिक प्रशिक्षण

झापा। घरै बसेर परिवारका सदस्यले थोरै लगानीमा सजिलै बढी आम्दानी गर्न सकिने व्यवसायका रुपमा पछिल्लो समय बङ्गुरपालनप्रति गाउँका किसानको आकर्षण बढ्दै गएको छ । परम्परागत रूपमा गरिने बङ्गुरपालनलाई आधुनिक र व्यावसायिक बनाउन सक्ने हो भने यसमा लागेका किसानको आर्थिक स्तर नै फेरिने सम्भावना रहेको बताइएको छ ।

यही सम्भावनालाई दृष्टिगत गर्दै नेपाल वेलहोप एग्रिटेक प्रालि र मेरीगोल्ड बङ्गुर फार्मले परम्परागत बङ्गुरपालन गर्दै आएका किसानलाई व्यावसायिक बनाउन सघाउने उद्देश्यले गाउँ गाउँ पुगेर विज्ञद्वारा प्रशिक्षण प्रदान दिने अभियान सञ्चालन गरेको छ । ती संस्थाले झापा, मोरङ, सुनसरी र उदयपुरमा बङ्गुरपालनको पकेट क्षेत्र मानिएका पालिकामा किसानलाई भेला गरेर व्यावसायिक बङ्गुरपालनका बारेमा वैज्ञानिक प्रशिक्षण प्रदान गरिरहेका छन् ।

यही क्रममा शुक्रवार झापाको बाहुनडाँगीमा जिल्लास्तरीय एक दिवसीय प्रशिक्षण कार्यक्रम गरिएको हो । झापाका १५ पालिकाबाट सहभागी १५० भन्दा बढी किसान सो प्रशिक्षण कार्यक्रममा सहभागी भएका छन् । किसानलाई आधुनिक बङ्गुरपालनका लागि आवश्यक पर्ने खोर, पाठापाठीको प्रजाति, दाना र औषधिसम्बन्धी उपयोगी जानकारी प्रदान गरिएको मेरीगोल्ड बङ्गुर फार्मका सञ्चालक पुनम राईले बताउनुभयो ।

नेपाल वेलहोप एग्रिटेक प्रालिका प्रबन्ध निर्देशक कुमार पौडेल, डा सुवास रेग्मी र डा नगेन्द्र खड्काले किसानलाई प्रशिक्षण दिनुभएको थियो । परम्परागत तरिकाले भन्दा आधुनिक ढङ्गले बङ्गुरपालन गर्दा बढी फाइदा हुने जानकारी प्रशिक्षणबाट पाएको कार्यक्रमका सहभागी अभिषेक लिम्बूले बताउनुभयो ।

प्रालिका प्रबन्ध निर्देशक पौडेलले उदयपुरको गाईघाट र बेलटार, सुनसरीको धरान र इटहरी, मोरङको पथरी तथा झापाको मेचीनगरमा बङ्गुरपालन व्यवसाय फस्टाइरहेको हुँदा यसलाई आधुनिक, व्यावसायिक र उन्नत तुल्याउन प्रशिक्षण अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । प्रालिले उच्च चिनियाँ तथा नेदरल्याण्डको प्रविधि प्रयोग गरेर बङ्गुर, कुखुरा, बाख्रा, गाई भैँसी र माछालाई खुवाइने २१ प्रकारका दाना उत्पादन तथा बिक्री गर्दै आएको समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button