तपाईँ सुन्दै हुनुहुन्छः

८७ परिवार सुकुम्वासीहरूको बिचल्ली

महोत्तरी । महोत्तरीको भंगाहा नगरपालिका–४ मा भूमिहीन सुकुम्वासीहरू वर्षौँदेखि भोगचलन गर्दै आइरहेको जग्गा भु–माफियाहरू नाममा लालपुर्जा बनेपछि सुकुम्वासीहरू बिचल्लीमा परेका छन् । 

महोत्तरीको बर्दिबासमा पत्रकार सम्मेलन गर्दै पीडितहरूले वर्षाैदेखि बसोबास गर्दै आइरहेको जग्गा भु–माफियाहरुले आफ्नो नाममा लालपुर्जा बनाएपछि आफूहरू सहित बसोबास गर्ने ८७ घरपरिवार बिचल्लीमा परेको बताएका हुन् । अहिले आफ्ना बाबुबाजेले पुस्तौँ देखि उपभोग गर्दै आएको करिब तीन कट्ठा जग्गामा लालपुर्जा देखाउँदै अधिग्रहण गरेको जग्गा फिर्ता दिलाउन रामबाबु महतो विभिन्न सरकारी कार्यालयमा धाइरहेका छन्, तर कुनै सुनुवाइ हुन सकेको छैन । रामबाबु महतोले हक भोग गर्दै आएको जमिन स्थानीय रामभजन महतोले लालपुर्जा देखाउँदै आफ्नो भएको दाबी गरेपछि जग्गा फिर्ता गर्न माग गर्दै हारगुहार गरिरहेका छन् । 

भंगहा नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष ६० कि मरनी देवी राम तीन पुस्तादेखि बसोबास गर्दै आइरहे पनि जग्गाको भु–माफियाहरूको नाममा लालपुर्जा बनेपछि बिचलित बनेकी छिन् भने आफूहरू घर न घाटको भएको बताउँछिन् । उक्त जग्गाबाटै पारिवारिक भरण पोषण गर्दै आएका मरनीलाई भएको जग्गासमेत अर्कैले हस्तक्षेप गरेपछि जीविकोपार्जनका लागि समस्या बन्दै गएको छ ।

‘न्यायका लागि धेरै भौतारि सकियो, तर सुनुवाइ कतैबाट हुन सकेन,’ उनले आशु पुछ्दै भनिन् । उनीहरू त प्रतिनिधि मात्र हुन् । रामबाबु र सीतादेवी जस्तै भंगाहा नगरपालिका–४ मा पुस्तैनी ऐलानी जग्गा हक भोग गर्दै आएका ६२ घरपरिवार र बर्दिबास नगरपालिकाका २५ घरपरिवार गरी करिब ८७ घरपरिवार भू माफियाका कारण घर न घाटको बनेका छन् । 

बर्सौँ वर्षदेखि आफ्नो जग्गा भोगचलन गर्दै आएका ८७ घरपरिवार भू माफिया र सरकारी अधिकारीको मिलेमतोमा अहिले बेघर बनेका । मालपोत कार्यालय कै मिलेमतोमा भु–माफियाहरूले लालपुर्जा तयार गरेका छन् । राष्ट्रिय भूमि अधिकार मञ्चका केन्दिय सदस्य फौदसिंह स्याङ्गवाका अनुसार २०५४ मा बनेको भूमि आयोगले लालपुर्जा वितरण गर्ने क्रममा जोताहा किसानलाई स्वामित्व दिनुको सट्टा आफन्त, नातागोता, कर्मचारी र हुनेखानेलाई नै जग्गाको पुर्जा बाँड्दा भू माफियालाई सहयोग पुगेको बताउनुहुन्छ । 

मालपोत कार्यालय बर्दिबासले लालपुर्जाको विवादित अभिलेख ढड्डा जलेश्वरबाट झिकाइ भित्रभित्रै बिक्री वितरण गरिरहेको भूमि अधिकार मञ्च नेपालका केन्द्रीय सदस्य फौदसिंह स्याङ्गवाको दाबी छ । अहिले नापी कार्यालयका कर्मचारी तथा महोत्तरीका बासिन्दा सञ्जय यादवसँग मात्र त्यस्तो बिघौबिघा जग्गा आफ्नो नाममा रहेको उहाँले दाबी गर्नुभएको छ । त्यस्तै अरूको नाममा समेत छ, यदि बर्षौ देखि बसोबास गर्दै आएकाहरूको जग्गा फिर्ता नभए त्यस्ता भु–माफियाहरूको नाम छिटै सार्वजनिक गर्ने उहाँले बताउनुभयो । 

२०५४ सालमा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासलाई धनी पुर्जा वितरण गर्न बनेको भूमि आयोगले वास्तविक पीडितलाई पहिचान गर्न नसक्दा अहिले समस्या सिर्जना भएको उहाँले बताउनुभयो । बषौं देखि हक भोग गर्दै आएको जग्गा भित्रभित्रै मिलेमतोमा अरुकै नाममा लालपुर्जा निकालेर गलत भएको भन्दै राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल महोत्तरीले २०५४ मा गरेका सम्पूर्ण निर्णय खारेजी गर्न माग समेत गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button