तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसमा युवा आकर्षण : २१ वर्षीया पूजा क्षेत्रीय प्रतिनिधिमा विजयी

सोलुखुम्बु । नेपाली काँग्रेसको जारी १४ औँ महाअधिवेशनका सन्दर्भमा भएको वडा अधिवेशनमा हिमाली जिल्ला सोलुखुम्बुमा पनि धेरै युवाहरू नेतृत्वमा चयन भएका छन् । ‘काँग्रेस बुढापाकाको पार्टी’ भन्ने मान्यतालाई चिर्दै वडा अधिवेशनबाट सभापति तथा क्षेत्रीय प्रतिनिधिमा युवाहरू चयन भएका हुन् ।

यसै क्रममा वडा अधिवेशनबाट सोलुखुम्बुमै कम उमेरकी पूजा फुयाँल खुला महिला प्रतिनिधिमा विजयी हुनुभएको छ । जिल्लाको नेचासल्यान गाउँपालिका–३ मा भएको निर्वाचनबाट सबै भन्दा धेरै मत ल्याएर प्रतिस्पर्धी सबैलाई उछिन्दै २१ वर्षको उमेरमा क्षेत्रीय प्रतिनिधिमा विजयी हुनु भएको हो ।

२६३ मत खसेकोमा पूजालाई सबैभन्दा धेरै अर्थात् २०२ मत प्राप्त भएको छ । नौ कक्षामा पढ्दा हिमाल दर्शन मावि नेचाको नेविसंघ इकाई सभापति बनेकी पूजा उच्च शिक्षा अध्ययनको क्रममा वि.सं. २०७३ सालमा सानोठिमी क्याम्पस भक्तपुरको स्ववियू सदस्यमा निर्वाचित बन्नुभएको थियो । अहिले नेविसंघ सोलुको कोषाध्यक्ष र जिपि कोइराला फाउण्डेशनको जिल्ला सहसचिव फुयाँल लगातार पूर्णकालीन राजनीतिमा हुनुहुन्छ । 

धेरै मत ल्याएर जित्दा निकै खुशी भएको उहाँको भनाइ छ । ‘मैले सहमतिमा मलाई एउटा क्षेत्रीय प्रतिनिधिमा पठाउनुस् भनेर सबै नेता तथा पार्टीका अगुवालाई भने तर उहाँहरूले मलाई अन्य पदमा राख्ने आश्वासन दिएर नपठाउने कुरा गर्नुभयो’ उहाँले भन्नुभयो । ‘चुनावमा गएपछि मलाई ९० प्रतिशत क्रियाशीलले माया गरेर जिताउनुभयो ।’

क्षेत्रीय प्रतिनिधि जितेसँगै राजनीतिमा युवाहरूको भविष्यप्रति आशा जागेको उहाँको भनाइ छ । काँग्रेसमा ५० कटेकालाई युवा नेता मान्नुपर्ने विवशतालाई यो पुस्ताले तोड्नुपर्ने उहाँले बताउनुभयो ।

५२ वटा वडा रहेको सोलुखुम्बुमा जम्मा तीन वटा वडामा मात्र चुनावी प्रक्रियाबाट नेतृत्व चयन भएको हो । चुनाव भएको नेचासल्यान गाउँपालिका नेपाली काँग्रेसको सबै भन्दा बढी क्रियाशील सदस्य भएको जिल्लाकै दोस्रो वडा हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button