तपाईँ सुन्दै हुनुहुन्छः

एमसीसीका उपाध्यक्ष सहितको टोलीद्वारा एमाले अध्यक्ष ओलीसँग भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहनुभएकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमार सहितको प्रतिनिधि मण्डलले आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ । 

अध्यक्ष ओलीको निवास बालकोटमा भएको भेटवार्तामा एमसीसी उपाध्यक्ष सुमारले एमसीसी सम्झौताका सम्बन्धमा छलफल गर्नुभयो । 

दुई पक्षीय भेट पछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका नेता राजन भट्टराईले उपाध्यक्ष सुमारको एमसीसी सम्झौताका सम्बन्धमा रहेको जिज्ञासामा एमाले अध्यक्ष ओलीले विगतमा सरकारको नेतृत्वमा रहँदा एमसीसी सम्झौता पारित गर्ने प्रयास गरेको भए पनि अन्य केही पक्षको असहयोगका कारण  सफल नभएको बताउनुभएको जानकारी दिनुभयो । 

भेटमा अध्यक्ष ओलीले अहिले एमसीसी सम्झौताका विषयमा आफूहरूको भन्दा सत्तारुढ दलको भूमिका महत्त्वपूर्ण हुने भएकाले पहिले सरकारको धारणा आउनुपर्ने बताउनुभएको एमाले विदेश विभाग प्रमुख समेत रहनुभएका नेता भट्टराईले जानकारी दिनुभयो ।  

भेटमा अध्यक्ष ओलीले सत्तापक्षको धारणा आएपछि मात्र एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने बताउनुभएको पनि नेता भट्टराईले जानकारी दिनुभयो । 

नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य केही राजनैतिक नेतृत्व सँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । 

नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक आर्थिक विकासका लागि चार वर्ष अघि नेपाल सरकार र एमसीसीबीच मिलिनियम च्यालेन्ज सम्झौता कम्प्याक्टमा दुई पक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलो पटक भ्रमण भएको हो । 

सम्झौता अनुसार सडक सञ्जाल विस्तार विद्युत् प्रसारण लाइन निर्माण लगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजनाका लागि अनुदान स्वरूप अमेरिकाबाट ५० अर्ब रूपैँया सहयोग प्राप्त हुनेछ । 

यस भ्रमणलाई चासो र महत्त्वका साथ हेरिएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको एमसीसी प्रतिनिधि मण्डल नेपालको चार दिने भ्रमणका लागि आज बिहान काठमाडौँ आइपुगेको हो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button