तपाईँ सुन्दै हुनुहुन्छः

अवरोधबिच राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८ संसदमा पेश

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बिच गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी अध्यादेश २०७८ पेश गर्नुभएको छ । 


सभामुख अग्निप्रसाद सापकोटाले अध्यादेश पेश गर्न समय दिनुभएपछि विरोधका बिच गृहमन्त्री खाँणले अध्यादेश पेश गर्नुभएको हो । 
यस अघि आजको बैठक एमाले सांसदहरूको नाराबाजीसहित अवरोधका कारण दुई पटक १५–१५ मिनेटका लागि सभामुखले स्थगित गर्नुभएको थियो । 


प्रतिनिधि सभाको ९ औँ अबिधेशनको पहिलो बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदहरुले दलका १४ जना सांसदको कारबाहीका सम्बन्धमा सभामुखले दल फुटाउने गरी काम गरेको आरोप लगाउँदै यथास्थितिमा बैठक चल्न दिन नसकिने भन्दै उठेर विरोध जनाउनुभएको थियो । 


विरोधका बाबजुद बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । 


सोही बिच एमाले सांसदहरूको विरोध जारी रहेपछि सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका सचेतक विशाल भट्टराईलाई बोल्न समय दिनुभयो । 


बैठकमा एमाले सचेतक भट्टराईले विगतमा दलको ह्विप अवज्ञा गर्दा जसपा सांसद सरिता गिरी र माओवादी केन्द्रका ४ जना सांसदको पदमुक्त गरिएकोमा अहिले एमालेका १४ जना सांसदले फ्लोर क्रस गर्दा उनीहरूलाई पदमुक्त किन गरिएन? भनी प्रश्न गर्नुभयो । उहाँले स्वयम् सभामुख नै एमाले विभाजनमा लागेको आरोप पनि लगाउनुभयो । 


त्यसपछि नेकपा एमालेका सांसदहरूले नाराबाजी गर्दै रोष्टम घेराउ गरेका थिए । 


सभामुखको पटक–पटकको आग्रह गर्दा पनि नाराबाजी जारी राखेपछि सभामुखले १५–१५ मिनेटका लागि दुई पटक बैठक स्थगित गर्नुभएको थियो । 


प्रतिनिधि सभाको आजको बैठकमा नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, आर्थिक अध्यादेश, विनियोजन अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, शपथसम्बन्धी अध्यादेश, रेल्वेसम्बन्धी अध्यादेश, औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृतिका लागि पेश गर्ने कार्यसूची रहेको थियो । 


यसैगरी बैठकमा कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश र सामाजिक सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ स्वीकृतिका लागि पेश गरिने थप कार्यसूची पनि रहेको थियो ।


प्रतिनिधि सभाको अर्को बैठक भदौ २५ गते शुक्रवार दिउँसो १ बजे बस्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button