तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व प्रधानमन्त्री आचार्य र पूर्व मुख्यसचिव थापाको शालिक शिलान्यास

काठमाडौँ । काठमाडौँको गोकर्णस्थित यज्ञडोल सामुदायिक वनमा निर्माणाधीन निजामती स्मारक क्षेत्रमा पूर्व प्रधानमन्त्री टङ्कप्रसाद आचार्य र पूर्व मुख्यसचिव  चन्द्रबहादुर थापाको शालिक शिलान्यास गरिएको छ । 

निजामती सेवा दिवसको अवसरमा आज निर्माणाधीन स्मारक क्षेत्रमा आयोजित कार्यक्रममा मुख्यसचिव शंकरदास वैरागीले पहिलो पटक निजामती सेवा ऐन जारी गर्न नेतृत्व लिनुभएका पूर्व प्रधानमन्त्री आचार्य र पूर्वमुख्य सचिव थापाको शालिक शिलान्यास गर्नुभएको हो ।

कार्यक्रममा मुख्यसचिव वैरागीले चालु आर्थिक वर्षभित्र दुवै शालिक निर्माण सकिने गरी काम गर्न निर्देशन दिनुभयो । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका विज्ञान सचिव सुरेश आचार्यले स्मारक क्षेत्रमा निर्माण हुन लागेको युनेस्को ग्रामको अवधारणाले धेरै विषयलाई जोड्ने बताउनुभयो । 

वन मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेलले सामुदायिक वनमा स्मारक निर्माण गरेर पनि वन संरक्षण गर्न सकिने बताउनुभयो ।

अगामी एक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको राष्ट्रिय शहीद तथा शान्ति पार्क, निजामती स्मारक व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिनुभयो । 

त्यस अवसरमा स्मारक निर्माण स्थलमा धुपी, कपुर, अमलालगायत ५० जातका बिरुवा रोप्नुका साथै पूर्व मुख्यसचिव थापाले ९० वर्षअघि लेख्नुभएको पुस्तक ‘छोटो रामायण’ को दोस्रो संस्करण विमोचन गरिएको थियो ।

निजामती सेवा ऐन २०१३ भदौ २२ गते जारी भएको थियो निजामती सेवा ऐन जारी भएको दिन भदौ २२ लाई निजामती सेवा दिवसका रुपमा मनाउने गरिएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button