तपाईँ सुन्दै हुनुहुन्छः

करिब चार महिनापछि खुल्यो गोरखाको मनकामना मन्दिर

file photo

गोरखा। नेपालको प्रसिद्ध धार्मिक गन्तव्यका रूपमा चिनिने गोरखाको मनकामना मन्दिर करिब चार महिनापछि आजदेखि खुलेको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिमका कारण गत वैशाख २३ गतेदेखि पूजाआजा गर्न रोक लगाइएको मनकामना मन्दिर भक्तजनका लागि पूजा गर्न खुल्ला गरिएको मन्दिरका मूल पुजारी इन्सानबहादुर थापामगरले जानकारी दिनुभयो ।

मनकामना क्षेत्र विकास समितिले मन्दिरमा सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्ने गरी सर्वसाधारणका लागिसमेत पूजाआजा गर्न मन्दिर खोल्ने निर्णय गरेसँगै आजदेखि मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको उहाँले बताउनुभयो । “आज बिहान नियमित रूपमा गरिने नृत्य पूजा गरेर सर्वसाधारणलाई पनि पूजाआजाका लागि मन्दिरमा प्रवेश गराइएको छ, मूल पुजारी थापाले भन्नुभयो, “पुजारी र भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर तत्कालका लागि मन्दिर बाहिरको झ्यालबाट पूजा सामग्री पुजारीलाई दिने गरी व्यवस्था मिलाइएको छ ।”

मन्दिरमा भाकल बुझाउन आउने भक्तजनका लागि बलि दिने स्थानमा समेत छुट्टै पुजारीको व्यवस्था मिलाइको उहाँले बताउनुभयो । चार महिनापछि मन्दिर खुल्ला भएको पहिलो दिनमै सयौँ भक्तजन पूजापाठका लागि आएको मूल पुजारी थापाले जानकारी दिनुभयो । मन्दिरमा पुग्ने भक्तजनले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्नेलगायतका व्यवस्थासमेत गरिएको उहाँको भनाइ छ ।

यता मन्दिर परिसरमा पुग्ने भक्तजनको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी मन्दिर परिसरमै हेल्थ डेस्कसमेत स्थापना गर्ने तयारी गरिएको शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिनुभयो ।

यसैबिच कोरोना सङ्क्रमणको जोखिमका कारण बन्द रहेको गोरखाको अर्को प्रसिद्ध धार्मिक गन्तव्यको रूपमा चिनिने गोरखा दरबारस्थित कालिका मन्दिर पनि आजदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button