तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाबाट २० टन बढी जडीबुटी निर्यात, ४० लाख राजश्व सङ्कलन

जुम्ला । जडीबुटीको प्रचुर सम्भावना रहेको साबिक कर्णालीको जुम्लाबाट २० टन जडीबुटी निर्यात भएको छ । बितेको आर्थिक वर्ष २०७७/७८ मा जुम्लाका ८ स्थानीय तहमा सङ्कलन भएको २० टन बढी जडीबुटी जुम्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा निर्यात भएको हो । जुम्लाका एक नगरपालिका सहित सात गाउँपालिका मध्य तातोपानी, गुठिचौर र पातारासी गाउँपालिकाका विभिन्न पाटनमा सबै भन्दा धेरै जडीबुटी पाइन्छ । 

विशेष गरी गुठिचौर र पातारासीका नागरिकको मुख्य आयस्रोतको माध्यम नै जडीबुटी सङ्कलन हो । यता डिभिजन वन कार्यालय जुम्लाको तथ्याङ्क अनुसार कोरोना कहरका बीच पनि जुम्लामा गत आवमा विभिन्न २० प्रकारका  २० टन २ सय क्वीईन्टल जडीबुटी सङ्कलन तथा निर्यात भएको छ । जसमा सबैभन्दा बढी धुपी साढे २ टन निर्यात भएको छ । भने,सेचक चिनी साढे २ टन,चिराइतो ९  क्वीईन्टल, तितेपाती साढे २ टन, सुनपाती ३ टन, पाखनबेद साढे २ टन,सुगन्धवाला (सुमायो) १ टन ५ क्वीइन्टल निर्यात भएको छ ।

त्यस्तै, कुट्की ३८ क्वीइन्टल, कालादाना ७९ क्वीइन्टल, विषजरा १ टन ४१  क्वीइन्टल, पदमचाल १ टन ५५  क्वीइन्टल, अमलबेद ३३ सय क्वीइन्टल, सिस्नु १२  क्वीइन्टल लगायत विभिन्न २० प्रकारका २० टन जडीबुटी निर्यात भएको डिभिजन वन कार्यालय जुम्लाका सूचना अधिकारी खड्क बहादुर महतले बताउनुभयो । उहाँका अनुसार जुम्लामा गएको वर्षका यार्सागुम्बा ४१ किलो मात्रै सङ्कलन भएको छ ।ा

सूचना अधिकारी महतले भने,“सङ्कलन भएको अधिकांश जडीबुटी निर्यात भइसकेको छ । जडीबुटीमै निर्भर पातारासी र गुठिचौरका अधिकांश स्थानीयको रोजगारी कोरोनाले खायो । जडीबुटी सङ्कलन गरेरै वर्षभरिको खानाखर्च जुटाउने नागरिकलाई भने, समस्या भएको छ ।” 

जुम्लाका ७३ जना व्यापारी तथा स्थानीयले गत आ.व.मा जडीबुटी सङ्कलन गरी विक्री गरेको वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

४० लाख राजश्व सङ्कलन

जुम्लामा गएको आर्थिक वर्षमा डिभिजन वन कार्यालय जुम्लाले ४० लाख राजश्व सङ्कलन गरेको छ । जसमा जडीबुटी सङ्कलन बापत २९ लाख ४७ हजार र घर निर्माणको पुर्जा वितरण बापत १० लाख ७६ हजार  राजश्व सङ्कलन भएको छ । भने, आव २०७५/७६ मा जडीबुटी सङ्कलनबाट १ लाख ३८ हजार र ०७६/७७ मा २१ लाख २८ हजार राजश्व सङ्कलन भएको थियो । तर विगतको दुई आर्थिक वर्षको भन्दा आव २०७७/७८ मा भने २९ लाखको राजश्व सङ्कलन भएको डिभिजन वन कार्यलयका सूचना अधिकारी खड्क बहादुर महतले जानकारी दिनुभयो । 

उहाँका अनुसार जुम्लामा सङ्कलन हुने २० प्रकारका जटिबुटी मध्य यार्सागुम्बाबाट १२ लाख ३० हजार, सेतकचिनीबाट ४ लाख २० हजार विषजराबाट १ लाख ४१ हजार, धुपीबाट ७० हजार राजश्व सङ्कलन भएको छ । 

त्यस्तै, कालादानाबाट ५५ हजार ३ सय, रातो च्याउबाट ५५ हजार पाखनबेदबाट १ लाख ८६ हजार, वन लसुनबाट २० हजार ५ सय पदमचालबाट १७ हजार ५ सय लगायत २० प्रकारका जडीबुटी सङ्कलनबापत २९ लाख राजश्व सङ्कलन भएको डिभिजन वन कार्यालय जुम्लाका सूचना अधिकारी खड्क बहादुर महतले बताउनुभयो । 

उहाँले भन्नुभयो,“जडीबुटी निर्यातबाट हुने आम्दानी रकम भने रेकर्डमा हुदैन् । यार्सागुम्बा प्रतिकेजी सङ्कलनबापतको राजश्व ३० हजार छ । तर बजारमा प्रतिकेजी १० लाखभन्दा बढी छ । अन्य जडीबुटी पनि सङ्कलन राजश्व र बजार मूल्य फरक छ । त्यसैले जडीबुटी निर्यातबाट हुने आम्दानी यकिन छैन ।”

तर जडीबुटी निर्यातबाट जुम्लामा १ अर्ब सम्म आम्दानी हुने अनुमान छ । व्यापारीहरू यति बेला जडीबुटी विक्रीकै क्रममा रहेकोले २० टन जडीबुटी सङ्कलन तथा निर्यातबाट कति आम्दानी भयो भन्ने यकिन हुन सकेको छैन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button