तनहुँमा लकडाउन खुकुलो गरी भदौ ३१ गतेसम्म थपियो

तनहुँ । तनहुँमा जारी निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । आगामी भदौ ३१ गते राती १२ बजेसम्म जिल्लाभर लागु हुने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो ।
प्रजिअद्वारा जारी आदेश अनुसार जिल्लामा पार्टी प्यालेसको खोल्न पाइने भएको छ । स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी कूल क्षमताको ५० प्रतिशतमा नबढ्ने गरी साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने प्रजिअ आचार्यले बताउनुभयो ।
यस्तो होटल, रेष्टुरेण्टहरु बेलुका ९ बजे सम्म स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी सञ्चालन गर्न पाइने सहायक प्रजिअ चित्राङ्गत बरालले जानकारी दिनुभयो । अन्य अनुमति दिइएका सेवा तथा व्यवसाय बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।
विद्यालय खोल्ने निर्णय स्थानीय तहले गर्न सक्ने
विद्यालय/कलेजमा भौतिक उपस्थितिमा पठनपाठन गर्न स्थानीय तहले निर्णय लिन सक्ने आदेश जारी भएको छ । “विद्यालय सिकाई सहजीकरण निर्देशिका, २०७७” र “कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि, २०७८“ मा उल्लेखित सूचक अनुसार जोखिमको स्कोरिङ तथा विश्लेषण गरी विद्यालय व्यवस्थापन समितिको सिफारिसका आधारमा स्थानीय तहले निर्णय गर्न सक्ने छन् ।
यस्तै स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी २५ जना भन्दा नबढ्ने गरी न्यूनतम सहभागितामा तालिम तथा प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रण सम्बन्धमा सोमबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कोभिड–१९ को जोखिम अझै कमी नभएको भन्दै निषेधाज्ञालाई निरन्तरता दिन सिफारिस गरेकाले यसअघि जारी गरेको निषेधाज्ञाको आदेशलाई निरन्तरता दिँदै प्रजिअले निषेधाज्ञा जारी गरेका हुन ।
कोही कसैबाट आदेशको उल्लङ्घन भएमा कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ तथा स्थानीय प्रशासन ऐन, २०२८, संक्रमक रोग ऐन, २०२० बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।










प्रतिक्रिया राख्नुहोस्