तपाईँ सुन्दै हुनुहुन्छः

निजामती दिवसको पूर्व सन्ध्यामा वृक्षारोपण

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निजामती सेवा दिवसको पूर्व सन्ध्यामा आज काठमाडौँमा वृक्षारोपण गरेको छ । 


यस वर्षको निजामती दिवसका अवसरमा घोषणा गरिएको राष्ट्रसेवक कर्मचारी वृक्षारोपण अभियान अन्तर्गत मन्त्रालयले आज काठमाडौँको सिनामङ्गलस्थित सञ्चार ग्राम परिसरमा वृक्षारोपण कार्यक्रम गरेको हो । 


कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल, सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमाल तथा मन्त्रालयका विभिन्न शाखा एवं विभागमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूको सहभागिता रहेको थियो । 


कार्यक्रममा विभिन्न प्रजातिका ३० वटा बिरुवा रोपिएको छ ।


यस वर्षको निजामती सेवा दिवसका अवसरमा घोषणा गरिएको राष्ट्रसेवक कर्मचारी वृक्षारोपण अभियान आगामी एक वर्षसम्म जारी रहने र यस अभियान अन्तर्गत देशभर कार्यरत राष्ट्रसेवक कर्मचारीहरूले एक करोड बिरुवा रोप्ने लक्ष्य रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले जानकारी दिनुभयो । 


अभियान अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भागमा २ सय बिरुवा रोप्ने जिम्मेवारी रहेको र उपयुक्त स्थान प्राप्त हुनासाथ बाँकी बिरुवा रोपिने सचिव अर्यालले बताउनुभयो । 


विक्रम संवत् २०१३ साल भदौ २२ गते पहिलो पटक निजामती सेवा ऐन जारी भएको दिनको सम्झनामा विक्रम संवत् २०६१ सालदेखि हरेक वर्षको भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउँदै आइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button