तपाईँ सुन्दै हुनुहुन्छः

वर्षा र बाढीका कारण भक्तपुरका विभिन्न भाग डुबानमा

भक्तपुर । अविरल वर्षासँगै आएको बाढीका कारण भक्तपुरका विभिन्न भाग डुबानमा परेका छन् । बाढीका कारण मध्यपुर थिमि नगरपालिका र भक्तपुर नगरपालिका अन्तर्गतका विभिन्न भाग डुबानमा परेका हुन् । 

लगातारको पानीका कारण मनोहरा खोलामा आएको बाढीले सुकुम्वासी क्षेत्रको बस्ती डुबानमा परेको छ । डुबानमा पर्दा खोला आसपासका ७० भन्दा बढी घर जलाम्य भएका छन् । 

बाढीले सुकुम्वासी बस्तीको जनजीवन प्रभावित भएको छ भने दर्जनौँ घरमा पानी पसेको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

डोजरको सहयोगमा पानीको निकास खोलिएकोले र मौसममा केही सुधार भएकाले अहिले बाढी घट्ने क्रममा देखिएको छ भने उद्धारमा नेपाल प्रहरी,नेपाली सेना, सशस्त्र प्रहरी खटिएका छन् ।

यस्तै भक्तपुरको हनुमन्ते खोलामा बाढी आउँदा मध्यपुरथिमीको राधेराधे, चारदोबाटो, बिस्कुट कारखाना, तरकारी बजार लगायतका क्षेत्रमा बाढी पसेको छ ।बाढीले सूर्यविनायक, राम मन्दिर, बाराहीस्थान आसपास पनि प्रभाव पारेको छ ।

भक्तपुर नगरपालिकाका हनुमानघाट, राममन्दिर र बाराहीस्थान क्षेत्रमा डुबान भएको छ।बाराहीस्थानमा बन्दै गरेको पुल पूरै डुबेको छ भने अस्थायी पुल पनि बगाएको छ ।

खोलाको छेउमा रहेको पाटी पनि वर्षेनी डुब्छ । त्यस्तै राममन्दिर पनि १ फिट जति पानी जमेको छ । शान्ति निकेतन माध्यमिक विद्यालय र  वालसेवक निमावि पनि डुबेका छन् ।हनुमन्ते खोलामा आएको बाढीले भेलुखेलस्थित सिद्धि स्मृति महिला तथा वाल अस्पताल र सल्लाघारीस्थित डा.इवामुरा अस्पताल परिसर पनि डुबानमा परेका छन् ।

चाँगुनारायण नगरपालिकाको कुइँकेल गाउँ र नेपाल ईन्जिनियरीङ कलेज छेउ प्रगतिटोलमा समेत बाढीको खतरा बढेको छ ।

बनेपाको पुल बजार डुबानमा पर्दा भक्तपुरको पलाँसेसम्मै सडक ठप्प हुनुका साथै अरनिको राजमार्गमा सवारी जामको लाम देखिएको छ । 

बर्षातको कारण नाला गुम्बा खरिखोल्सामा आएको पहिरोले ताथली– नाला सडक अवरुद्ध भएको छ । वर्षासँगै सडकको सोल्टी मोडमा पहिरो खस्दा सवारी साधन रोकिएका छन् ।

वर्षाले हनुमन्तेमा बाढी आएपछि सुरक्षाकर्मीलाई रातिदेखि नै तयारी अवस्थामा राखिएको र डुबान क्षेत्रमा परिचालन गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button