जुम्ला जिल्ला सभापतिमा देउवा र पौडेल पक्षको रस्साकस्सी

जुम्ला । नेपाली काँग्रेस जुम्लाको जिल्ला सभापतिका लागि देउवा र पौडेल पक्षको रस्साकस्सी हुने देखिएको छ । जुम्लाका ६० वटा वडामा सहमतिका आधारमा युवालाई प्राथमिकता दिँदै वडा अधिवेशन सम्पन्न भए पनि जिल्ला सभापतिका लागि भने दुई पक्ष बीच रस्साकस्सी हुने सम्भावना देखिएको हो । जिल्ला अधिवेशन नजिकिँदै गर्दा सभापतिको लागि जुम्लामा झण्डै आधा दर्जन आकाङ्क्षी देखिएका छन् । उहाँहरूले आफ्नो तयारीका लागि कार्यकर्ता भेटघाट तथा नेतासँग लबिङलाई समेत तीव्रता दिएका हुन् ।
आसन्न अधिवेशनमा पुरानै सभापति दीप बहादुर शाहीले दोहोरिने इच्छा राखेका छन् । शाहीलाई रामचन्द्र पौडेल पक्षबाट सभापतिका लागि एकल उम्मेदवारका समेत उभ्याइसकेका छन् । उता शेर बहादुर देउवा पक्षबाट सचिव कर्ण बहादुर शाही, कान्तिका सेजुवाल, भक्त बहादुर रोकाया र खड्क बहादुर सेजुवाल आकाङ्क्षी देखिएको नेपाली काँग्रेस जुम्लाले जनाएको छ । पौडेल पक्षबाट एकल उम्मेदवार दीप बहादुर शाही देखिएका छन् । देउवा पक्षबाट ४ जना आकाङ्क्षी देखिएका हुन् ।
जिल्ला अधिवेशन नजिकिएपछि दुवै पक्षले कार्यकर्ता भेटघाटलाई जोड दिएका छन् । अन्ततः सचिव कर्ण बहादुर शाही र पुराना सभापति दीप बहादुर शाही बीच नै प्रतिस्पर्धा हुने अनुमान भइरहेको छ ।
पार्टी सचिव कर्णबहादुर शाही सचिव भइसकेपछि पार्टीलाई समय नदिएको, सङ्गठन विस्तार देखि कुनै काम नगरेको उनी पर्यटक नेता भएको भन्दै स्विकार्न नसक्ने पौडेल पक्ष काँग्रेसीहरू बताउँदै आएका छन् । उता दीप बहादुर शाहीले पनि पार्टीलाई चलायमान बनाउन नसकेको र कार्यकाल पनि सन्तोषजनक नभएको देउवा पक्षको भनाई छ । तर तुलनात्मक रुपमा दीप बहादुर शाही भने जुम्लामै रहेर काम गरेको कार्यकर्ताले मानेका छन् । पार्टी सभापति दीप बहादुर शाहीले आसन्न अधिवेशनमा अन्तिम पटक सम्म पनि सहमति सहकार्यलाई जोड दिने र अन्तमा नभए निर्वाचनको विकल्प नरहेको बताउनुभयो ।
यद्धपी गुटका हिसाबले देउवा पक्षका सभापतिका आकाङ्क्षी खड्क बहादुर सेजुवाल, भक्तबहादुर रोकाया र कान्तिका सेजुवालले कर्णबहादुर शाहीकै पक्षमा सहमति भन दिन सक्ने स्रोतले बताएको छ ।
सभापतिका आकाङ्क्षी धेरै र छुट्टाछुट्टै भेला छलफल हुन थालेपछि कार्यकर्ताले सहमति र सहकार्यका आधारमा नेतृत्व चयन गर्न दबाब दिन थालेका छन् । कार्यकर्ताले दीपबहादुर शाही र कर्णबहादुर शाही दुवै आफ्नो कार्यकालमा सन्तोषजनक कार्य नगरेको भन्दै असन्तोष पोखेका छन् । तर अन्तिम रस्साकस्सी भने यी दुई बीच हुने देखिन्छ ।
उहाँले भन्नुभयो,“सभापतिको लागि जिल्लामा दुई खेमा देखिन्छ । गुटगत राजनीतिले पार्टीको विकास भन्दा विनाश भएका धेरै घटना छन् । त्यसैले सहमतिका आधामा पार्टीको विधि विधान अनुसार अघि बढ्ने,कार्यकर्ता रिझाउन सक्ने नेतृत्व आउनुपर्छ ।”
भर्खरै वडा अधिवेशन सकिएको छ । वडामा पनि आफ्नो अनुकूलताका आधारमा नेतृत्व चयन गर्ने कार्य भइरहेको छ । सभापति दीपबहादुर शाहीले भन्नुभयो,“यो पटक पनि म सभापतिको आकाङ्क्षी हो । कार्यकालमा बाँकी रहेका अधुरा काम पुरा गर्नु छ । त्यसैले मेरो दोहोरिने इच्छा हो ।”
यता काँग्रेस पार्टी सचिव समेत रहेका कार्मा बुढाले पार्टीको हित नै आफ्नो हित भएकोले सर्व सहमतीय नेतृत्वका लागि अधिकतम प्रयत्न गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीलाई जीवित राख्न एक नभई सुखै छैन । एकल र सहमतीय नेतृत्व चयनका लाग सबै एकाकार हुनुपर्छ त्यसको लागि सक्रिय नेता, कार्यकर्ता र समर्थक शुभचिन्तक लागि राख्नुपर्छ । यो अधिवेशन पार्टी सिङ्गो पार्टी एक भएर अघि बढेको सन्देश फैलाउन जरुरी छ ।” आउँदो भदौ २७ गते गाउँपालिका स्तरीय अधिवेशन,असोज १ गते प्रदेश क्षेत्र स्तरीय अधिवेशन र असोज ५ गते जिल्ला अधिवेशन हुने कार्यतालिका छ ।
जुम्ला जिल्ला सभापतिका आकाङ्क्षीहरू, तस्बिरः सागर परियार ।








प्रतिक्रिया राख्नुहोस्