अवैध हुण्डीको कारोबार बढ्दै

बीरगंज । खुला सीमाको कारण बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरूमा अवैध हुण्डीको कारोबार बढ्दै गएको छ ।
विगत एक वर्षयता पर्साबाट मात्रै झन्डै ३ करोड नेपाली रुपैयाँसहित ३१ जना पक्राउ परेको घटनाले सीमा क्षेत्रमा हुण्डी कारोबारीको सञ्जाल फैलिँदै गएको प्रमाणित गरेको छ ।
अवैध हुण्डी कारोबारमा संलग्न भएको आरोपमा पर्सा प्रहरीले एक सातायता जगरनाथपुरको जानकी टोला, पर्साको धोविनी र बीरगंजबाट झन्डै १७ लाख रुपैयाँसहित ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।
पछिल्लो समय नियमित रूपमा हुन्डी कारोबारी पक्राउ परेको तथ्याङ्कका आधारमा अवैध कारोबारको सञ्जाल मौलाउँदै गएको प्रहरीले समेत स्वीकारेको छ । कारोबारमा संलग्न मध्ये अधिकांश भारतीय नागरिक रहेका छन् ।
गत आर्थिक वर्षमा पर्सा प्रहरीले हुन्डी कारोबारमा संलग्न २५ जनालाई पक्राउ गरेको थियो ।
तीमध्ये १३ भारतीय र १२ नेपाली थिए । उनीहरूबाट २ करोड १७ लाख ९९ हजार ५ सय २० रुपैयाँ बरामद भएको थियो ।
प्रहरीले स्रोत नखुलेको रकमसहित पक्राउ पर्नेलाई बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसुरमा कानुनी कारबाही चलाउने गरेको छ । हुण्डी कारोबारीले सीमा पारीबाट नेपाली रुपैयाँ बोकेर आउँछन् ।
डीएसपी ओमप्रकाश खनालले नेपाली मुद्रा विभिन्न माध्यमले भारत पुग्ने गरेको र त्यो नेपाल ल्याउन हुन्डी कारोबारीले भरिया प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको बताउनुभयो ।
नेपालीहरू किनमेल गर्न दिनहुँ जसो सीमावर्ती भारतीय बजार पुग्ने गरेको र सामान्यतः उनीहरूले नेपाली रुपैयाँमा विनिमय गर्ने भएकाले ठूलो परिमाणमा नेपाली मुद्रा त्यहाँ जम्मा हुने गर्दछ ।
यसबाहेक सुनचाँदी कारोबारी तथा विभिन्न किसिमले नेपालमा कर छली गरेर भारतमा रकम गएको नेपालीहरूले आफ्नो आवश्यकता परेका बेला त्यस्तो रकम स्वदेश ल्याउन हुन्डीको माध्यम अपनाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
अवैध हुण्डीको कारोबार निस्तेज गर्ने अभियानमा पर्सा प्रहरी जुटे पनि यसको अवैध कारोवारीहरुको सञ्जाल ठूलो भएको कारण नियन्त्रण गर्न अप्ठ्यारो भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्