तनहुँमा बढ्दो सवारी दुर्घटना : वर्ष दिनमा १३० दुर्घटना, ४८ जनाले ज्यान गुमाए

तनहुँ । तनहुँमा सवारी दुर्घटना बढेको छ । गत आर्थिक वर्षमा कोरोना भाइरसको महामारीका बीच बन्दाबन्दी गरिए पनि निजी र पछि सार्वजनिक सवारी साधन सञ्चालन हुँदा सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक डोलिन्द्र बहादुर हमालले बताउनुभयो।
तनहुँमा आर्थिक वर्ष २०७६/७७ मा ९७ सवारी दुर्घटना भएका थिए भने आव २०७७/७८ मा १३० सवारी दुर्घटना भएको प्रनानि हमालले जानकारी दिनुभयो ।
जसमध्ये सबैभन्दा धेरै दुर्घटना मोटरसाइकल भएको जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ । आर्थिक वर्ष २०७६/७७ मा मोटरसाइकल ३५, जिप/कार १७, बस १६, ट्रक/ट्यांकर १४, ट्याक्टर ११, टिपर २, माइक्रो र शा.स चल्ने १/१ वटा सवारी दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय तनहुँको तथ्यांङमा उल्लेख छ ।
यस्तै आर्थिक वर्ष २०७६/७७ मा मोटरसाइकल दुर्घटना करिब दोब्बरले बढेको छ । मोटरसाइकल ६६, जिप÷कार १७, बस ५, ट्रक/ट्यांकर १८, ट्याक्टर १७, टिपर १, माइक्रो ४ र अन्य २ वटा सवारी दुर्घटना भएका छन् ।
आव २०७६/७७ मा दुर्घटनामा परेर ९७ जनाको मृत्यु भएको थियो भने १४८ जना साधारण र गम्भीर घाइते भएका थिए । त्यस्तै आव २०७७/७८ मा सवारी दुर्घटनामा परी ४८ जनाको मृत्यु भएको छ भने १२७ जना साधारण र गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जसमा आव २०७६/७७ मा दुर्घटनामा परेर ३० जना पुरुष, ११ जना महिला, २ जना बालक र १ जना बालिकाले ज्यान गुमाएका थिए । यसैगरी आव २०७७/७८ मा ३७ जना पुरुष, ८ जना महिला र ३ जना बालकले ज्यान गुमाएका छन् ।
धेरै मोटरसाइकल दुर्घटना
सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको पाइएको छ । अन्य सवारीको तुलनामा बढी दुर्घटनामा पर्ने र मानवीय एवम् भौतिक क्षति धेरै हुने सवारी साधनमा मोटरसाइकल अग्रस्थानमा रहेको पाइएको हो ।
बढी ट्राफिक नियम उल्लङ्घन पनि मोटरसाइकलबाटै हुने गरेको ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । तनहुँ ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक हमालले नियमको पालना नगरीकन लापरबाहीपूर्ण तरिकाले चलाइने गरेका कारण मोटरसाइकल बढी दुर्घटनामा पर्ने गरेको बताउनुभयो ।
मापसे (मादक पदार्थ सेवन) गरेर चलाउने, हेलमेट नलगाउने र त्यसको क्लिप नबाँध्ने, दुई जना भन्दा बढी चढ्ने, तीव्र गतिमा हाँक्ने लगायतका नियम उल्लङ्घन गरेर मोटरसाइकल चलाउने गरिएको उहाँको भनाइ छ ।
दुई जनाभन्दा बढी चढ्दा, तीव्र गतिमा र मापसे गरेर चलाउँदा सन्तुलन बिग्रिएर धेरै दुर्घटना हुने ट्राफिक प्रहरीले जनाएको छ ।
सडक र सवारी साधनको अवस्था, यान्त्रिक गडबडी, छाडा पशु चौपाया, जथाभाबी बाटो काट्ने पैदल यात्रु, सडकमा उचित सूचनाको अभाव, सडकको असुरक्षित ट्र्याक, सवारी साधनको अत्यधिक चाप, ट्राफिक सङ्केत र सूचनाहरू पर्याप्त नहुनु दुर्घटनाका अन्य कारण रहेको ट्राफिकको भनाइ छ ।
सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ ले कार, जिप, पिक–अप, भ्यान प्रति घण्टा ८० किलोमिटर, बस, मिनिबस, ट्रक, मिनी ट्रक पहाडमा ५०, समतलमा ७० किमी प्रतिघण्टा, मोटरसाइकल ५० किमी प्रतिघण्टा, टेम्पु, स्कुटर, पावर–टेलर, ट्याक्टर प्रतिघण्टा ४० किमी र बाक्लो बस्ती इलाकामा सबै सवारीसाधन ४० किमी प्रतिघण्टा कुदाउन पाउने व्यवस्था तोकेको छ ।








प्रतिक्रिया राख्नुहोस्