तपाईँ सुन्दै हुनुहुन्छः

चार वर्षयता मुसुरो दाल निर्यात ओरालो लाग्दै

झापा । सरकारले मुसुरो दाल निर्यात प्रोत्साहन गर्न भन्दै व्यवसायीलाई निर्यात सहुयित दिए पनि पूर्वी नाकाबाट मुसुरो दालको निर्यात चार वर्षयता क्रमशः ओरालो लाग्दै गएको छ । 

सरकारले निर्यात प्रोत्साहन स्वरूप व्यवसायीहरूलाई ‘एस्सपोर्ट इन्सेटिफ’ निर्यात प्रोत्साहन भन्दै ५ प्रतिशत सहुलियत दिएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । 

प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माका अनुसार व्यवसायीले मुसुरो दाल निर्यात गर्दा निकासीबापत प्रतिकेजी १ रुपैयाँ निकासी दस्तुर बुझाउनुपर्छ ।

तर, सरकारले व्यवसायीलाई निकासी सहुलियत प्रदान गरे पनि काँकडभिट्टा नाकाबाट हुने मुसुरो दालको निर्यात व्यापार खासै सन्तोषजनक नरहेको बताइएको छ । 

पूर्वी काँकडभिट्टा नाका भएर निर्यात हुने मुसुरो दाल आर्थिक वर्ष २०७४/०७५ देखि २०७७/०७८ चार वर्षको अवधिमा क्रमशः घट्दो क्रममा रहेको सरकारी तथ्याङ्क छ ।

क्वारेन्टिन कार्यालय काँकडभिट्टाको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा काँकडभिट्टा नाका भएर २६ करोड ३० लाख ३० हजार रुपैयाँ मूल्य बराबरको १ हजार ८ सय १४ मेट्रिक टन मुसुरो दाल निर्यात भएको छ । 

जुन परिमाण अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा ५७ करोड ८० लाख ८ हजार रुपैयाँ वा ४ हजार ८ सय ३७ मेट्रिक टन कम निर्यात हो । 

आर्थिक वर्ष २०७६/०७७ मा ८३ करोड ३८ लाख ३८ हजार वा ६ हजार ६ सय ५१ मेट्रिक टन मुसुरो दाल निर्यात भएको थियो ।

आर्थिक वर्ष २०७५/०७६ मा मुसुरो दालको निकासीमा केही वृद्धि भए पनि आर्थिक वर्ष २०७६÷०७७ मा निकासी ह्वात्तै घटेको कार्यालयको भनाई छ । 

आर्थिक वर्ष २०७५/०७६ मा नेपालले १ अर्ब ४१ करोड १ लाख २० हजार रुपैयाँ मूल्य बराबरको ११ हजार ५ सय ६८ मेट्रिक टन दाल बङ्गलादेश निकासी गरेको सरकारी तथ्याङ्क छ । 

आर्थिक वर्ष २०७४/०७५ मा यो नाका भएर ९५ करोड ५४ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको १० हजार ६ सय १६ मेट्रिक टन मुसुरो दाल बङ्गलादेश निर्यात भएको थियो ।

दाल निकासीमा नेपाल सरकारले कृषि भएकाले भ्याट छुट दिएको छ । तर, व्यवसायीहरूले मुसुरो दाल निर्यातका क्रममा अनिवार्य रुपमा खाद्य प्रयोगशालाको सिफारिस पेस गर्नुपर्ने भन्सार अधिकारीहरू बताउँछन् । 

व्यवसायीले खाद्य प्रयोगशालाको सिफारिस पेस गरेपछि निकासी बापत प्रतिकेजी १ रुपैयाँ निकासी दस्तुर बाहेक अन्य केही रकम बुझाउनु नपर्ने प्रमुख भन्सार अधिकृत विश्वकर्माको भनाई छ । 

तेस्रो मुलुकबाट आयात भएको दालमा कृषि छुटमा १० प्रतिशत महसुल बुझाउनुपर्छ ।

भारतले निर्यातमा प्रतिबन्ध गरेको मुसुरो दाल बासमती चामल लगायतका कृषिजन्य वस्तु पर्याप्त मौज्दात भएपछि मात्र उसले यस्ता वस्तुको कोटा प्रणालीमा निर्यात गर्ने गरेको छ । बङ्गलादेशमा भने यो प्रणाली छैन ।

नेपालमा उत्पादित मुसुरो विशेष गरी बङ्गलादेश मात्रै निर्यात हुने गरेको प्रमुख भन्सार अधिकृत विश्वकर्माको भनाई छ । 

नेपालमा उत्पादित मुसुरो दालको माग बङ्गलादेशमा अत्यन्तै भए पनि माग अनुसार पूर्ति गर्न नसकिएको नेपाली सरकारी अधिकारीहरूको भनाई छ । 

“बङ्गलादेशमा झन्डै १८ करोडभन्दा बढी जनसङ्ख्या छ” प्रमुख भन्सार अधिकृत विश्वकर्माले भन्नुभयो—“अनि नेपालमा उत्पादित मुसुरो दालको माग बढी भए पनि नेपालले बङ्गलादेशको माग अनुसार मुसुरो दाल निर्यात गर्न सकेको छैन ।”

बङ्गलादेश निकासी गर्दा त्यहाँ कुनै पनि प्रकारको महसुल बुझाउनु नपर्ने, निर्यात विना झण्डझट सहजरुपमा गर्न सकिने वातावरण हुँदा हुँदै नेपालले पर्याप्त रुपमा मुसुरो दालको निर्यात गर्न नसकेको नेपाली अधिकारीहरूको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button