तपाईँ सुन्दै हुनुहुन्छः

अफगानिस्तानमा रहेको जापानको दूतावास कतार सार्ने तयारी

जापान सरकारले अफगानिस्तानमा रहेको आफ्नो दूतावासको काम कतारबाट गर्ने भएको छ । 

जापानका अधिकारीहरुले अफगानिस्तानबाट दूतावासको काम गर्न अहिले असहज भएको ठहर गर्दै कतारबाट त्यहाँको काम गर्ने तयारी गरेका हुन् । 

तालिबान विद्रोहीहरुले अफगानिस्तानको सत्ता कब्जा गरेपछि राजनीतिक अन्यौलता सृजना भएकाले विदेशी कूटनीतिक निकायहरुले अफगानिस्तानमै रहेर काम गर्न अप्ठ्यारो मानिरहेका छन् । 

तालिबान विद्रोहीहरुको सरकारप्रति आशङ्का र त्रास व्यक्त गर्दै अफगानिस्तानबाट अहिले हजारौँ विदेशी तथा स्वदेशी नागरिकले देश छाडेका छन् ।

धेरै देशहरुले अफगानिस्तानबाट आफ्ना नागरिक फिर्ता गराइरहेका बेला जापानले पनि दूतावासको काम अन्य देशबाट गर्ने तयारी गर्नुलाई स्वभाविक रुपमा लिइएको छ । 

जापानका विदेश मन्त्री तेशिमित्सु मोतेगीले अफगानिस्तानमा रहेको जापानको दूतावासको काम कतारको राजधानी दोहाबाट गराउने तयारी भइरहेको पुष्टि गर्नुभएको हो । 

अफगानिस्तानस्थित दूतावासको काम अहिले पनि अस्थायी रुपमा टर्कीको राजधानी स्तानबुलस्थित कन्सुलेट जनरलबाट भइरहेको उहाँले जानकारी दिनुभयो । 

“तालिबानका अधिकारीहरुसँग कुराकानी गर्नुपरेमा दोहामै उनीहरुको राजनीतिक कार्यालय रहेकाले त्यहीँ पनि छलफल गर्न सकिन्छ,” विदेश मन्त्री मोतेगीले भन्नुभयो । 

अमेरिकाले भने गत मङ्गलबार आफ्ना सबै सैन्य अधिकारीहरुलाई अफगानिस्तानबाट फिर्ता गरेर अफगानिस्तानमा आफ्नो सैन्य संलग्नता अन्त्य गरेको छ । 

अफगानिस्तानबाट हात झिक्नु परेको विषयलाई अमेरिकाले आफ्नो सबैभन्दा लामो युद्धबाट बाहिरिएको रुपमा लिएको छ ।एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button