तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालय बन्द भएपछि बालबालिकाले सामान्य पढाई पनि बिर्सन थाले

डडेलधुरा  । विद्यालय बन्द भएपछि साना बालबालिकाले सामान्य पढाइ समेत बिर्सन थालेका छन् भने माथिल्ला कक्षामा पढ्ने बालबालिकामा पढाइ नियमित नगर्ने जोखिम बढेको छ । 

कोरोना कहरसँगै विद्यालय बन्द हुँदा घरमा अध्ययनको कार्य राम्रोसँग तथा नियमित हुन नपाउँदा उनीहरूको पढाइ बिग्रँदै गएको अभिभावकहरू बताउँछन् । 

दोस्रो चरणमा फैलिएको कोरोना कहरले गर्दा लामो समय विद्यालय बन्द भएपछि साना बालबालिकाले क, ख समेत बिर्सन थालेका छन् ।  

वैशाख महिनायतादेखि अहिले सम्म विद्यालय सञ्चालनमा छैनन् । सुदूरपश्चिमका ग्रामीण भेगमा अनलाइन कक्षा सम्भव छैन । जसका कारण बालबालिकाले आधारभूत कुरा पनि बिर्सिएको अमरगढी नगरपालिका ५ का एक जना अभिभावक, डम्वरी भट्ट  बताउनुहुन्छ ।  

कोरोना महामारी अघिसम्म राम्रो पढिरहेका छोराछोरीले अचेल क, ख, ग र ए, बी, सी समेत बिर्सिदा अभिभावकहहरु चिन्तामा छन् । 

चार महिनादेखि विद्यालय बन्द हुँदा बालबालिकाको पढाइ बिग्रिएको छ । 

साना बालबालिकालाई अध्ययन गराउने विकल्प नभएको र घरमै पनि पढाउन नसकेको अर्का अभिभावक अमरगढी नगरपालिका १ भात्काडाका दिलबहादुर ऐरको भनाई छ । 

विद्यालय नचलेपछि बालबालिका दिनभरि खेलेर बस्ने गरेका छन् । 

नयाँ शैक्षिकशत्रको लागि पुस्तक किने पनि शिक्षकले पढाउन नपाउँदा विद्यार्थी पढ्न मान्दैनन् । 

कोरोना महामारीका कारण विद्यालय खुल्ने टुङ्गो छैन । गाउँमा अनलाइन कक्षा सम्भव देखिएको छैन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button