हक्की सङ्घ कास्कीको अध्यक्षमा केसी निर्वाचित

पोखरा । कास्की जिल्ला हक्की सङ्घको अध्यक्षमा मिलन केसी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
पोखरामा बुधवार सम्पन्न सङ्घको चौथो अधिवेशनले केसीलाई अध्यक्षमा आगामी तीन वर्षका लागि निर्वाचित गरेको हो ।
यसैगरी, सम्पन्न अधिवेशनले कार्यसमितिमा ३ सदस्य पछि थप गर्ने गरी १० सदस्यीय कार्यसमिति समेत सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।
सङ्घको कार्यसमितिको प्रथम उपाध्यक्षमा सनमन श्रिमल, द्वितीय उपाध्यक्षमा भरत बराल, सचिवमा बुद्धि खत्री, कोषाध्यक्षमा राजन श्रेष्ठ, निर्वाचित हुनुभएको छ ।
यसैगरी, सदस्यमा मनोज शिल्पकार, शान्ति गुरुङ, वुद्ध गुभाजु, सोम बहादुर थापा (सुजन) र नविन गुरुङ (डिवी) निर्वाचित हुनुभएको छ ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानियाले पोखरामा हक्की खेलको निकै राम्रो सम्भावना भएको बताउनुभयो ।
“हक्कीको प्रशिक्षणका लागि पोखरा रङ्गशालामा अस्थायी मैदान निर्माण गरिए पनि स्थायी मैदानका लागि समितिले पहल गर्नु पर्ने कुरा नयाँ निवार्चित समितिको जिम्मेवारी रहेको”, उहाँले भन्नुभयो ।
नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काको अध्यक्षतामा सम्पन्न अधिवेशनमा पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदारले पोखरामा हक्की खेलको सम्भावना रहेको र साग खेलमा समेत पदकको सम्भावना रहेको धारणा अघि सार्दै महानगरले उचित ठाउँ प्राप्त भएमा हक्कीको अन्तर्राष्ट्रिय पूर्वाधार निर्माणमा आफ्नो सहयोग रहने प्रतिबद्धता जनाउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्