गण्डकी प्रदेश मा आयुर्वेद चिकित्साबाट पर्यटक तान्न सकिन्छ : मुख्यमन्त्री पोखरेल
पोखरा ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई आयुर्वेद चिकित्साको केन्द्र बनाउनुपर्ने बताउनुभएको छ । मङ्गलवार पोखरामा सुरु भएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पोखरामा गरेको वार्षिक समीक्षा गोष्ठीमा पोखरेलले विश्वभरका पर्यटक तान्न सफल गण्डकीमा आयुर्वेद चिकित्सको प्रचुर सम्भावना रहेकाले त्यसै अनुसार विकास गर्दै लैजानुपर्नेमा जोड दिनु भएको छ ।
सानो भूगोल भए पनि गण्डकी प्रदेशमा धेरै थरी औषधीजन्य जडीबुटी रहेको सन्दर्भ उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले आयुर्वेद चिकित्साका माध्यमबाट पनि पर्यटक तान्न सकिने भनाइ राख्नु भएको थियो । पोखरा र आसपासका पदमार्गहरूमा नियमित योग सञ्चालन गर्न सकिने भन्दै युरोप, अमेरिका लगायतका मुलुकबाट आएका पर्यटकको बसाइ लम्ब्याउन पनि यो विधि सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
राणा कालको समाप्तिसँगै तनहुँको बन्दीपुरका कविराज कृष्णकान्त अधिकारीलाई आयुर्वेद चिकित्सा हेर्ने गरी महानिर्देशकको जिम्मेवारी दिइएको स्मरण गर्दै मुख्यमन्त्री पोखरेलले नेपालमा आधुनिक चिकित्सा भित्रिनुभन्दा पहिला सरकारी चिकित्साको क्षेत्रमा आयुर्वेदलाई नै अवलम्बन गरिएको भनाइ राख्नु भएको थियो ।
गण्डकी प्रदेशका ८५ मध्ये ७६ स्थानीय तहमा आयुर्वेदका स्वास्थ्य संस्था रहेका बाँकी पालिकामा पनि पूरा गरिँदै लगिने योजना प्रदेश सरकारको रहको छ । ‘प्रदेशभित्र आयुर्वेद चिकित्सालय बनाउने काम पनि सुरु भइसकेको छ, यसै वर्ष डिपिआर तयार हुन्छ ।’ जिल्लास्थित आयुर्वेद केन्द्रको भौतिक पूर्वाधार स्तरोन्नति गर्दै लैजान प्रदेश सरकार क्रियाशील रहेको उल्लेख गर्नुभयो ।
गण्डकी प्रदेशमा रहेका बहुमूल्य जडीबुटीको संरक्षण र अधिकतम उपयोगका साथै किसानलाई जडीबुटी खेतीतर्फ आकर्षित गरी आर्य आर्जनको व्यवस्था मिलाउन सके उनीहरूलाई आत्मनिर्भर बनाउन सकिने मुख्यमन्त्री पोखरेलको भनाइ थियो । प्रदेशले स्वास्थ्य नीति ल्याउन लागेको जानकारी दिँदै उहाँले त्यसमा पनि आयुर्वेद र वैकल्पिक चिकित्साका विविध क्षेत्रलाई समेट्ने खालका नीति ल्याउन थालिएको बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या सचिव डा. विनोदबिन्दु शर्माले आयुर्वेद चिकित्सालाई पर्यटनसँग जोड्ने अगाडि बढ्न गण्डकी सरकार आतुर रहेको बताउनु भयो । पदमार्गहरूमा प्राकृतिक उपचार केन्द्र स्थापना गर्नुपर्ने उहाँको भनाइ थियो ।आयुर्वेद तथा चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले जहिल्यै पनि जडीबुटी र जलस्रोतको सम्भावनाका बारेमा चर्चा भए जति उपयोग गर्न नसकिएकोप्रति चिन्ता व्यक्त गर्नु भयो ।
कोभिड महामारीमा आयुर्वेद चिकित्साको महत्त्व असाध्यै बढेको भन्दै योग, प्रणायमको प्रयोग बढ्दै जानुले आफूहरू उत्साही रहेको भनाइ राख्नु भयो ।







प्रतिक्रिया राख्नुहोस्