सुदूरपश्चिमः एमालेका १० प्रदेश सभा सदस्यद्वारा समाजवादीका पक्षमा सनाखत
धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १० जना प्रदेश सभा सदस्यले नवगठित नेकपा (एकिकृत समाजवादी) का पक्षमा सनाखत गरेका छन् ।
आज धनगढीस्थित क्षेत्रिय निर्वाचन कार्यालयमा पुगेर उनीहरूले नेकपा समाजवादीका पक्षमा सनाखत गरेका हुन् ।
आन्तरिक मामिला मन्त्री पूर्णा जोशीसहित १० जना प्रदेश सभा सदस्यले एमाले छाड्दै नेकपा एकीकृत समाजवादी पक्षमा सनाखत गरेको प्रदेश सभा सदस्य अमर साउदले बताउनुभयो ।
यस्तै निर्वाचन कार्यालयले प्रदेश सभा सदस्यहरूले नेकपा एसको पक्षमा सनाखत गरेको उल्लेख गर्दै सनाखत गर्ने प्रदेश सभा सदस्यहरूको नामावली निर्वाचन आयोगबाटै सार्वजनिक हुने जनाएको छ ।
५३ सदस्यीय प्रदेश सभामा एमालेका सभामुखसहित २५ जना सदस्य रहेकोमा अब त्यो सङ्ख्या घट्ने भएको छ । औपचारिक रुपमा प्रदेश सभा सदस्यहरूले नेकपा एस रोजेपछि प्रदेश सभा र सत्ता समीकरणमा समेत फेरबदल हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, नेकपा एस रोजेका प्रदेश सभा सदस्यहरूले भदौ २२ गतेपछि मान्यता पाउने बताइएको छ ।
सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेसका १२, नेकपा माओवादी केन्द्रका १३ र जसपाका २ जना प्रदेश सभा सदस्य रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्