तपाईँ सुन्दै हुनुहुन्छः

ऐतिहासिक भगवतीजात्रा मनाइँदै, जिल्लाभर सार्वजनिक बिदा

पाल्पा । पाल्पामा आज ऐतिहासिक भगवती जात्रा मनाइँदै छ । वि.सं. १८७१ मा नेपाल अङ्ग्रेज युद्धमा नेपाली फौजले अङ्ग्रेजलाई हराएको अवसरमा यो जात्रा निकाल्ने गरिएको हो । जात्राको अवसरमा मङ्गलवार लुम्बिनी प्रदेश सरकारले जिल्ला भर सार्वजनिक बिदा दिएको छ । भगवती जात्राको ऐतिहासिक र विशेष महत्त्व रहेको भन्दै लुम्वनी प्रदेश सरकारले पाल्पामा जात्राको दिन सार्वजनिक बिदा दिने राजपत्रमा उल्लेख गरेको छ ।

पाल्पाका तत्कालीन तैनाथवाला कर्णेल उजिर सिह थापाले ब्रिटिस साम्राज्यवादीको आक्रमणबाट नेपाललाई जोगाउन सफल भएको खुसीयालीमा भगवतीको रथ निकाली सिन्दूर जात्रा गरिने प्रचलन छ । श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी भजन कीर्तन गरेर भोलिपल्ट तानसेनमा सिन्दूर जात्रा निकालिन्छ ।मङ्गलवार पाल्पामा २ सय ३ औँ भगवती रथयात्रा हो । तर कोभिड १९ महामारीको कारण यस वर्ष पनि भगवतीजात्रा सीमित गरी सामान्य पुजा मात्र गरिँदै छ ।

नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिर सिंह थापाले अंग्रेजफौजसँग बुटवलको जितगढीमा भएको लडाइमा युद्धमा जानु अघि थापाले विजयी भएमा मन्दिर बनाएर प्रत्येक वर्ष सिन्दूर जात्रा गर्ने भाकल गरेको र विजय पश्चात् जात्रा मनाउन सुरु भएको इतिहासमा उल्लेख छ । पाँच वटा नाकाबाट नेपाल माथि भएको आक्रमणमा चार स्थानमा नेपालले हार बेहोर्नु परेपनि जित गढीको लडाइँमा अग्रेजफौजलाई नेपाली फौजले हराएको थियो ।

भगवती रथलाई सिन्दूर, अबिर र केशरी सहित अन्य वैदिक पूजापाठ गर्दै शहर परिक्रमा गराइन्छ । जात्रालाई धार्मिक आस्थासँगै वीरताको सन्देश दिने राष्ट्रिय पर्वको रुपमा लिँदै आइएको छ । तानसेन, भगवती टोलमा रहेको श्री ७ रणउजीरेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दूर जात्रा गरिएको हो । शक्तिशाली अङ्ग्रेज सेनालाई युद्धमा जितेको सम्झनामा वि.सं. १८७६ देखि भगवती जात्रा मनाउन सुरु गरिएको हो । भगवतीजात्रा साइतमा भगवतीको रथ उठाई नेपाली सेनाले सलामी दिएर निकालिने प्रचलन रही आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button