तनहुँको भानु नगरपालिकाका विद्यालयमा भौतिक कक्षा सुचारु हुने

तनहुँ । तनहुँको भानु नगरपालिकाका विद्यालयमा भोलि मङ्गलवारदेखि प्रत्यक्ष वा भौतिक रुपमा कक्षा सुचारु हुने भएको छ । लामो समयदेखि कोभिड–१९ का कारण सिर्जना भएको लकडाउनको अवस्थाका कारण विद्यालय बन्द भई बालबालिकाहरूको पठनपाठन अवरुद्ध हुन गई ठूलो शैक्षिक क्षति हुन गएको र हाल कोभिड–१९ सङ्क्रमणको जोखिम क्रमशः न्यूनीकरण हुँदै गइरहेको भन्दै नगरपालिकाले आइतबार सूचना जारी गर्दै सम्पुर्ण विद्यालय सञ्चालन गरी प्रत्यक्ष कक्षा सुचारु गर्न निर्देशन दिएको छ ।
भानु नगरपालिकामा सञ्चालित सबै विद्यालयहरूले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डहरूको पूर्ण रुपमा पालना गरी भदौ १५ गतेदेखि सबै विद्यालयहरू सुचारु रुपमा सञ्चालन गर्ने भदौ १३ को बैठकले निर्णय गरेकोले सबै विद्यालयहरूमा पठनपाठन सुचारु रुपमा सञ्चालन नगरपालिकाले अनुरोध गरेको भानु नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ध्रुवराज पौडेलले जानकारी दिनुभयो ।
यस्तै जिल्लाको शुक्लागण्डकी नगरपालिकामा आइतबारदेखि विद्यालय खुलेका छन् । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी भौतिक रूपमै विद्यालय खोल्ने निर्णय भएको नगर प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिनुभयो ।
शुक्रवार विद्यालयका प्रधानाध्यापकसहितको उपस्थितिमा बसेको शिक्षा शाखाको बैठकले राजमार्गमा पर्ने पाँच विद्यालय बाहेक अन्य विद्यालयहरू खोल्ने निर्णय भएको प्रवक्ता कुमालले बताउनुभयो । उहाँका अनुसार शहीदकृष्ण मावि,पञ्चमुनिदेव मावि,जनकल्याण मावि,खैरेनी मावि र सरस्वती नमुना मावि भने अहिले नै खुलाइएको छैन ।
नगरपालिकाको युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख उपसचिव नवराज चापागाईँले स्मार्ट लकडाउनको अवधारणा अनुसार विद्यार्थीहरूलाई आलोपालो गरेर विद्यालय सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो । उहाँले सङ्क्रमणको जोखिम कम भएको र विद्यालय सञ्चालन गर्न सम्भव भएका क्षेत्रहरूमा विद्यालय सञ्चालन गर्न अनुमति दिइएको पुष्टि गर्नुभयो ।
उहाँका अनुसार निजी विद्यालयको हकमा भने कुनै निर्णय भएको छैन । आगामी दिनमा उहाँहरूसँग पनि छलफल गरेर निर्णय लिने उपसचिव चापागाईँको भनाई छ ।
जिल्लाको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकामा पनि आइतबारदेखि भौतिक रुपमा उपस्थित भई विद्यालय सञ्चालन भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्