तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा ठाउँ ठाउँमा कृष्णजन्माष्टमी पर्वको आयोजना, मेला महोत्सवमा रोक

जनकपुरधाम । वैदिक सनातन धर्मावलम्बीहरुले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज श्रद्धाभक्ति पूर्वक भगवान् श्रीकृष्णको पूजा आराधना गरेर धुमधामका साथ मनाइरहेका छन् । 

जनकपुरधामको स्टेशन एरिया, बाल्मिकीनगरमा भगवान् कृष्णको प्रतिमा बनाएर विशेष पूजापाठको आयोजना गरिएको छ । 

यसै गरी जनकपुरधामको वडा नंं ४ मा रहेको राधाकृष्ण मन्दिरमा पनि बिहान देखि नै श्रद्धालु भक्तजनहरूले भगवान् श्रीकृष्णको पूजा आराधना गरेर कृष्ण जन्माष्टमी पर्व मनाइरहेका छन् । 

कोरोना महामारी भएका कारणले मेला, जात्रा, सांस्कृतिक कार्यक्रम जस्ता भिडभाड हुने गरी मेला महोत्सव आयोजनामा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले हिजो सूचना प्रकाशित गरेर रोक लगाउनु भएको छ । सामान्य तरिकाले पूजा मात्र गर्नका लागि आग्रह गरेको छ । 

यसै गरी धनुषाको ग्रामीण सहित तराई मधेशका अन्य जिल्लाहरूमा पनि धूमधामका साथ कृष्ण जन्माष्टमी पर्व आज मनाइदैछ । मिथिलामा मूर्ति पूजाको विशेष महत्त्व रहेकाले कृष्ण चरित्रमा आधारित भगवान् श्रीकृष्ण सहितका देवी देउताहरुको ठाउँ ठाउँमा प्रतिमा स्थापना गरेर कृष्ण जन्माष्टमी पर्व मनाइरहेका छन् ।  

मिथिलामा कृष्ण जन्म लिएको भोलि पल्ट मात्र कतिपय व्यक्तिले उपवास बस्ने गरेका छन् भने कतिपयले आज पनि व्रत गरेका छन् । 

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थको निर्माण भएको मानिन्छ ।

छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । कृष्ण जन्माष्टमीकोको अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button