बालविवाह मुक्त वडाका लागि सूचक तय गर्दै बाँकेको खजुरा गाउँपालिका

बाँके । बाँकेको खजुरालाई नमुना गाउँपालिका बनाउने अभियानमा लागेका जनप्रतिनिधिहरू पालिकालाई बालविवाहमुक्त बनाउन अग्रसर भएका छन् । नमुना गाउँपालिका अन्तरगत एउटा सूचक बालविवाहमुक्त पालिका हुनु पर्ने भएकाले अभियान चलाइएको गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले बताउनुभयो ।
सबै वडालाई बालविवाहमुक्त घोषणापछि पालिकालाई बालविवाहमुक्त घोषणा गर्ने अभियानमा रहेको खजुराले केही दिन अघि जिल्लामै पहिलो वडा नम्बर ३ लाई बालविवाहमुक्त घोषणा गरेको खजुराले वडा नम्बर १ मा पनि उक्त सूचक पार गरेको जनाएको छ ।
वडामा गरिएको सर्वेक्षण अनुसार, २० प्रतिशतभन्दा तल अर्थात् खजुरा १ मा १६ दशमलव १२ प्रतिशत बालविवाहको अवस्था रहनुका साथै बालविवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागू, बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका मापदण्ड पूरा भएकाले वडालाई बालविवाहमुक्त घोषणा गरिएको हो ।

१ नम्बर वडालाई एक समारोहका बीच बालविवाह मुक्त वडा घोषणा गरिएको हो । हामीलाई १ देखि ४ नम्बर वडा त्यति ठुलो समस्या छैन, गाउँपालिका प्रमुख कक्षपतिले भन्नुभयो, बाँकी वडाहरूमा अलिक बढी चुनौती देखिएको छ । यद्धपी, सबै वडामा आवश्यक सूचक पार गर्न गराउन प्रयास भइरहेकोले छिट्टै पुरै गाउँपालिका बालविवाहमुक्त घोषणा गरिने अध्यक्ष कक्षपतिले विश्वास व्यक्त गर्नुभयो ।
भव्य समारोहका बीच, वडा नं. १ की कार्यवाहक अध्यक्ष फत्तेकुमारी जैसीले वडा नं. १ लाई बालविवाहमुक्त वडा घोषणा तथा प्रतिबद्धता पढेर सुनाएपछि पालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले उक्त प्रतिवद्धतापत्र वडालाई हस्तान्तरण गर्नुभयो ।
हामी सबैको प्रतिबद्धता : बाल विवाह विरुद्धको साझा प्रतिबद्धता भन्ने मूल नाराका साथ वडा नं. १ लाई बाल विवाह मुक्त वडा घोषणा सभा २०७८ लाई सम्बोधन गर्दै खजुरा गाउँपालिका प्रमुख कक्षपतिले अभियानमा साथ दिने संघसंस्थाहरुलाई धन्यवाद दिँदै बालविवाह शून्यमा झार्न सबैको उत्तिकै दायित्व हुने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्