उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या

काठमाडौँ । उपत्यकामा फोहोर व्यवस्थापन समस्याको रुपमा रहँदै आएको छ ।
उपत्यकाको एक मात्र फोहोर व्यवस्थापन स्थल सिसडोल ल्याण्डफिल्ड साइड भरिएको र निरन्तर वर्षा भइरहेका कारण उपत्यकाका सडकहरूमा फोहोर थुप्रिएर दुर्गन्धित बन्न थालेको छ ।
वर्षायाम सुरु भएसँगै वर्षेनी काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन कार्य समस्या बन्ने गरेको छ । समयमा फोहोर व्यवस्थापन हुन नसक्दा महानगरका विभिन्न चोकहरू र सडक छेउछाउमा फोहोर थुप्रिएका छन् भने फोहोर उठ्न नसक्दा काठमाडौँ महानगरवासीका घर–घरमा पनि फोहोर थुप्रिएका छन् ।
यसबाट सडक दुर्गन्धित बनेर आवतजावतमा सर्वसाधारणलाई समेत कठिनाइ भइरहेको त छैन, यसले विभिन्न रोगहरू लाग्ने पो हो की भन्ने त्रासमा समेत महानगरवासीहरू छन् । अहिले निरन्तर पानी परिरहेको र सिसडोलको ल्याण्डफिल्ड साइड भरिएर फोहोर व्यवस्थापनमा समस्या देखिएको महानगरले जनाएको छ ।
सिसडोलमा फोहोर व्यवस्थापन गर्नका लागि तल्लो भाग सबै फोहोरले भरिएकाले फोहोरमै टेकेर माथि पुर्याउनुपर्ने भएकाले लगातार पानी पर्दा त्यो सम्भव नभएको काठमाडाँै महानगरपालिकाका प्रवक्ता इश्वरमान डङ्गोलले जानकारी दिनुभयो । एक दुई दिन मात्रै पनि पानी रोकिएर घाम लागेमा फोहोर उठाउन सकिने उहाँले बताउनुभयो ।
उपत्यकामा यसरी थुप्रिएको फोहोरको व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको र छिटै त्यसको निर्णय आउने पनि काठमाडौँ महानगरपालिकाका प्रवक्ता डङ्गोलले बताउनुभयो ।
सिसडोलमा २÷३ वर्षका लागि मात्र फोहोर व्यवस्थापन गर्ने भनेर सम्झौता गरिएकोमा त्यसलाई बढाएर १४÷१५ वर्षसम्म प्रयोग गरिसक्दा समेत वैकल्पिक व्यवस्था गर्न नसक्दा उपत्यकामा यस्ता समस्या दोहोरिने गरेको छ ।
फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयले समयमा नै दीर्घकालीन ल्याण्डफिल्ड निर्माणको काम सम्पन्न नगर्दा थप समस्या चुलिएको हो । सरकारले दीर्घकालीन योजनासहित फोहोर व्यवस्थापनका लागि बन्चरे डाँडामा पूर्वाधार तयारीका कामहरू गरिरहेकाले अबको केही समयमा यो समस्या हटेर जाने काठमाडौँ महानगरपालिकाका प्रवक्ता डङ्गोलले जानकारी दिनुभयो ।
उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोल ल्याण्डफिल्ड साइड भरिएको र दीर्घकालीन व्यवस्थापन हुन नसक्दा समस्या थप चुलिएको हो । हाल एकातिर कोरोना सङ्क्रमणबाट बच्नका लागि सरसफाइमा विशेष ध्यान दिनुपर्ने अवस्था छ भने अर्कातिर कयौँ दिनदेखि उपत्यकाको फोहोर उठ्न नसक्दा अन्य रोगहरूको संक्रमण समेत हुनसक्छ । त्यसैले उपत्यकामा वर्षेनी दोहोरिइरहने फोहोर व्यवस्थापनको समस्याको दीर्घकालीन समाधानतर्फ समयमै ध्यान दिन जरुरी देखिन्छ ।








प्रतिक्रिया राख्नुहोस्