बिपी राजमार्गमा माथिबाट खसेको पहिरोमा परी एक जनाको मृत्यु, एक गम्भीर घाइते

काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा अन्तर्गत रोशी गाउँपालिका वडा नं. ७ मा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।
रोशी गाउँपालिका वडा नं. ७ को बिपी राजमार्ग अन्तर्गत कटुन्जेस्थित घुमाउनेमा माथिबाट खसेको ढुङ्गाले लाग्दा महोत्तरी जिल्ला रामगोपालपुर घर भएका सरोज कुमार साहको मृत्यु भएको हो ।
पहिरोमा परी अर्का एक जना घाइते भएका छन् ।
आज बिहान ९ः०० बजे राजमार्गमाथिबाट खसेको ढुङ्गाले लाग्दा काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको ज ८ प ७४९० नं को मोटरसाइकलका चालक सरोज कुमार साह र मोटरसाइकलको पछाडि सवार सचित कुमार साह घाइते भएका थिए ।

घाइते दुई जनामध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ भने अर्का एक जना घाइते रहेको र उनको धुलिखेल अस्पतालका उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।
बिपी राजमार्गअन्तर्गत घुमाउनेमा माथिबाट खसेको ढुङ्गाले लाग्दा मोटरसाइकल चालक महोत्तरी रामगोपालपुरका चालक सरोज कुमार साहको दुर्घटना पश्चात् उपचारको लागि धुलिखेल अस्पताल ल्याइएपछि अस्पतालले मृत घोषण गरेको र मोटरसाइकलको पछाडि सवार सचित कुमार साहको भने धुलिखेल अस्पतालमा उपचार भइरहेको डिएसपी खतिवडाले बताउनुभयो ।

त्यस्तै वर्षाको कारण खसेको पहिरोले बिपी राजमार्गका विभिन्न ८/ १० स्थानमा सडक अवरुद्ध भएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, नमोबुद्ध नगरपालिका वडा नं. ५ मा रहेको श्री कानपुर उच्च माविको निर्माणाधीन भवन तथा चौरीदेउराली गाउँपालिका वडा नं. ८ मा रहेको ज्वालादेवि आधारभूत विद्यालयको भवनहरू उच्च जोखिममा रहेको स्थानीयले जानकारी दिएका छन् ।

त्यसैगरी काभ्रेको भुम्लु हुँदै जाने मध्यपहाडी लोकमार्ग अन्तर्गत खर्क पाखा शिव भक्ति बस्तीमाथि गएको पहिरोको कारण सो बस्तीका केही घर उच्च जोखिममा रहेको स्थानीय युवा क्रान्ति लामाले जानकारी दिनुभयो ।
त्यस्तै अरनिको राजमार्गको बनेपास्थित पुल बजारमा रहेको पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुल बजार र बनेपा पनौती सडक अन्तर्गत पुण्यमाता खोलाको पुलमा डुबानमा परेपछि साना सवारीसाधनलाई आवतजावतमा समस्या भएको छ ।
त्यस्तै, शनिवार रातीदेखि परेको पानीले पाँचखाल, तिनपिप्लेमा पहिरो खस्दा अरनिको राजमार्ग कहिबेर अवरुद्ध भए पश्चात् एकतर्फी सुचारु भएको छ ।











प्रतिक्रिया राख्नुहोस्