तपाईँ सुन्दै हुनुहुन्छः

व्यास र ऋषिङमा भोलिदेखि नियमित पठनपाठन हुने

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका भित्रका विद्यालयमा कक्षामा २५ जना राखेर नियमित पठनपाठन सञ्चालन हुने भएको छ । आइतबारदेखि प्रत्यक्ष कक्षा सञ्चालन हुने भएको छ । 


नगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अबदेखि प्रत्यक्ष कक्षा सञ्चालन गर्न व्यास नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले निर्देशन गरेको छ ।


नगरपालिका भित्रका विद्यालयहरूमा कोभिड–१९ को कारण प्रभावित भएको सिकाइ प्रक्रियालाई निरन्तरता दिन भन्दै नगरपालिकाको गत भदौ ८ गतेको बैठकको निर्णयअनुसार वैकल्पिक माध्यमको प्रयोग गरी पठनपाठनमा निरन्तरता दिन विद्यालय निर्देशन पालना गर्न नगरपालिकाले विद्यालयलाई अनुरोध गरेको छ ।


नगरपालिकाले सम्भव भएसम्म वैकल्पिक विधि अनुसार अनलाइन कक्षा सञ्चालन गर्न समेत भनेको छ । अनलाइन कक्षा सञ्चालन हुन सम्भव नभएमा १ सय जना भन्दा कम विद्यार्थी भएका विद्यालयमा नियमित २ बजे सम्म मात्र प्रत्यक्ष सबै कक्षा सञ्चालन गर्न र मध्यान्तर बिदा नगर्ने नगरपालिकाले निर्देशन दिएको छ ।


यस्तै एक सय भन्दा बढी विद्यार्थी भएमा एउटा कक्षामा २५ जना भन्दा बढी नरहने गरी दिउसो २ बजे सम्म मात्र कक्षा सञ्चालन गर्न र मध्यान्तर बिदा नगर्ने नगरपालिकाले भनेको छ ।


धेरै विद्यार्थी भएका विद्यालयले भने २५ जना भन्दा बढी प्रत्यक्ष कक्षामा नरहने गरी विभिन्न समूह वा सिफ्टमा वा जोर बिजोर रोल नं. वा आलोपालो (कक्षा, तह वा सङ्ख्या) गरी बढीमा ४ घण्टा मात्र मध्यान्तर नहुने गरी कक्षा सञ्चालन गर्न नगरपालिकाले निर्देश गरेको छ ।


त्यस्तै विद्यालयमा सरसफाई, शौचालय, मास्क, सेनिटाइजर, साबुन/पानी लगायतका स्वास्थ्य मापदण्ड पालना गर्ने गरी व्यवस्था मिलाउन समेत विद्यालयलाई अनुरोध गरिएको व्यास नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नगेन्द्र प्रसाद रेग्मीले जानकारी दिनुभयो । 


शिक्षा तथा सामाजिक विकास शाखा, स्वास्थ्य तथा जनसंख्या शाखा, वडा कार्यालयबाट निरन्तर अनुगमन गरिने र निर्देशन पालना नभएको पाइएमा कक्षा सञ्चालन बन्द गरिने व्यास नगरपालिकाले जनाएको छ ।


विद्यालयका शिक्षक वा विद्यार्थीमा सङ्क्रमणको शङ्का भएमा विद्यालय नजिकको स्वास्थ्य संस्था वा इकाइमा सूचना गर्न समेत नगरपालिकाले भनेको छ ।


यस्तै जिल्लाको ऋषिङ गाउँपालिकाका विद्यालयहरूमा नियमित पठनपाठन सञ्चालन हुने भएको छ । 


गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा शुक्रवार सम्पन्न कार्यपालिका बैठकले केही सातादेखि आकस्मिक रुपमा बन्द गरिएका विद्यालयको पठनपाठन स्वास्थ्य मापदण्ड पालना गरेर भौतिक रुपमा नै सञ्चालन गर्ने निर्णय गरेको छ ।


गत साउन २५ गतेयता समुदायमा रुघा खोकी तथा ज्वरोको संक्रमण बढेको सूचनाको आधारमा केही समयको लागि शैक्षिक संस्था बन्द गरिएकोमा अवस्था सामान्य बन्दै गएपछि सञ्चालन गर्न लागिएको प्रवक्ता विजय दरैले जानकारी दिनुभयो ।


गाउँपालिकाको शिक्षा शाखाबाट जारी सूचनामा २५ जनाभन्दा बढी विद्यार्थी एकै कक्षामा नराख्न, एउटा बेन्चमा २ जना भन्दा नराख्न तथा स्वास्थ्य मापदण्ड पालना गरेर पठनपाठन सुचारु गर्न भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button