नारायणीसहित वीरगन्जका सबै अस्पताल संक्रमितविहीन

वीरगन्ज । कोरोना सङ्क्रमणको पहिलो र दोस्रो लहरदेखि नै हटस्पट बनेको पर्सामा अहिले नारायणी अस्पतालसहित वीरगन्जका सबै अस्पताल संक्रमितविहिन बनेका छन् ।
नारायणी अस्पताल सहित वीरगन्जका दुई दर्जन भन्दा बढी अस्पताल तथा आइसोलेसन केन्द्र संक्रमितविहीन बनेको जिल्ला कोभिड सम्पर्क व्यक्ति एवम् जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले बताउनुभयो ।
मध्य तराईकै उपचारको केन्द्रको रुपमा रहेको नारायणी अस्पतालमा विगत एक सातायता एक जना संक्रमित पनि भर्ना नभएको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहले बताउनुभयो ।
नारायणी अस्पतालमा दैनिक ९० देखि ५० जनासम्मको पीसीआर परीक्षण हुँदै आएकोमा १–२ जनामा मात्रै संक्रमण पुष्टि हुने गरेको अस्पतालले जनाएको छ । कोरोनाका कारण पर्सामा हालसम्म १ सय ९५ जिल्लावासीको मृत्यु भइसकेको छ ।
जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार हाल जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २३ जना मात्रै रहेको र सबैको अवस्था सामान्य रहेको हुँदा उनीहरू होम आइसोलेसनमै बसेको प्रशासकीय अधिकृत विनय श्रीवास्तवले बताउनुभयो ।
हाल संक्रमण दर न्यून हुनु र अस्पतालहरूमा पनि संक्रमित नहुनुले जिल्लामा कोरोना संक्रमण नियन्त्रणमा देखिएको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहले बताउनुभयो ।
छिमेकी राष्ट्र भारतमा हाल कोरोना संक्रमण दर न्यून हुनाले पनि सीमा क्षेत्रका बारा पर्सा लगायतका जिल्लामा संक्रमण नियन्त्रणमा आएको दाबी डा. सिंहले गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्