अछामका १० पालिकामा ४३ करोड बढी बेरुजु, अघिल्लो वर्षभन्दा १ करोड बढी

अछाम । अछाम जिल्लाका १० स्थानीय तहको बेरुजु रकम ४३ करोड बढी रहेको पाइएको छ । गत वर्षभन्दा यो वर्षको बेरुजु बढी देखिएको छ ।
महालेखा परीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन–२०७८ अनुसार जिल्लाका ४ नगरपालिका सहित १० पालिकाको बेरुजु ४३ करोड ७१ लाख ३८ हजार रहेको उल्लेख छ ।
दश स्थानीय तहमध्ये सबैभन्दा बढी पञ्चदेवल विनायक नगरपालिकाको १६ करोड ९९ लाख ४४ हजार बेरुजु देखिएको छ। १ अर्ब ८४ करोड ५७ लाख ९ हजारको लेखा परिक्षण गरिएकोमा उक्त रकम बेरुजु देखिएको हो।
बान्नीगढी जयगढ गाउँपालिकामा सबैभन्दा कम १ करोड ८२ लाख ७ हजार बेरुजु देखिएको छ, त्यहाँ ७ करोड १२ लाख ३४ हजार लेखा परीक्षण गरिएको हो ।
यसै गरी साँफेबगर नगरपालिकाको ५ करोड ३७ लाख १२ हजार बेरुजु देखिएको छ । जहाँ १ अर्ब २० करोड ७० लाख ६९ हजारको लेखा परीक्षण गरिएको थियो।
चौरपाटी गाउँपालिकाको १ अर्ब ६० करोड ४५ लाख २ हजार लेखा परीक्षण गरिएकोमा ४ करोड ८२ लाख ८२ हजार बेरुजु आएको छ । ढकारी गाउँपालिकाको ४ करोड १९ लाख ४१ हजार बेरुजु आएको छ । ढकारीको ८७ करोड ७४ लाख ९८ हजार लेखा परीक्षण भएको हो ।
मङ्गलसेन नगरपालिकाको १ अर्ब २५ करोड ४९ लाख १५ हजार लेखा परीक्षण गरिएकोमा ३ करोड ७३ लाख ६५ हजार बेरुजु देखिएको छ । त्यसै गरी कमलबजार नगरपालिकाको २ करोड ६७ लाख २ हजार बेरुजु देखिएको छ । नगरपालिकाको १ अर्ब २४ करोड ४१ लाख ७ हजार लेखा परीक्षण गरिएको हो ।
रामारोशन गाउँपालिकाको २ करोड ५२ लाख ३ हजार बेरुजु देखिएको छ । पालिकाको ८५ करोड ६ लाख ७० हजारको लेखा परिक्षण गरिएको हो ।
तुर्माखाँद गाउँपालिकाको ८३ करोड ८८ लाख ९८ हजार लेखा परिक्षण भएकोमा २ करोड ३९ लाख ४७ हजार बेरुजु देखिएको छ । मेल्लेख गाउँपालिकाको ९३ करोड ६४ लाख ५ हजार लेखा परीक्षण गरिएकोमा २ करोड ३१ लाख ३६ हजार बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ।
गत वर्ष अछामका स्थानीय तहको बेरुजु ४२ करोड ४५ लाख ५० हजार रहेको थियो । यो वर्ष जिल्लाको बेरुजु रकम १ करोड २४ लाखले बढेको छ ।
गत वर्ष सबैभन्दा बढी साँफेबगर नगरपालिकाको ८ करोड ९४ लाख ३० हजार बेरुजु देखिएको थियो भने बान्नीगढी जयगढ गाउँपालिकामा सबैभन्दा कम ४९ लाख २६ हजार बेरुजु देखिएको थियो ।
यो वर्ष साँफेबगरको बेरुजु घटेको छ भने बान्नीगढी जयगढ गाउँपालिकाको बेरुजु बढेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । पालिकामा विभिन्न पक्षबाट आर्थिक अनुशासन विपरीतका गतिविधि बढेकाले बेरुजु बढेको कोष तथा लेखा नियन्त्रण कार्यालय अछामले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्