पर्वतका स्थानीय तहमा झन्डै १० करोड बेरुजु

पर्वत । पर्वतका स्थानीय तहमा गत आर्थिक वर्ष २०७७/०७८ मा करिब १० करोड बेरुजु देखिएको छ ।
पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिकासहित सात स्थानीय तहमा ९ करोड ७५ लाख ९१ हजार बेरुजु देखिएको हो ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा परिक्षण प्रतिवेदन अनुसार पर्वतका सात वटा पालिकाको ६ अर्ब ७९ करोड ५० लाख २० हजार बजेटको लेखा परीक्षण गर्दा १.२४ प्रतिशत बेरुजु देखिएको हो ।
महालेखाको प्रतिवेदन अनुसार पर्वतमा सबैभन्दा धेरै बेरुजु कुश्मा नगरपालिकाको देखिएको छ भने सबैभन्दा कम पैयुँ गाउँपालिकामा देखिएको छ ।
कुश्मा नगरपालिकामा १ अर्ब ६३ करोड ४८ लाख ८४ हजारको लेखा परीक्षण गर्दा ५ करोड २३ लाख ५८ हजार बेरुजु देखिएको छ । कुश्माको बेरुजु प्रतिशत ३ दशमलव २० प्रतिशत देखिएको छ ।
त्यसैगरी फलेवास नगरपालिकामा १ अर्ब ३४ करोड १८ लाख ३८ हजारको लेखा परीक्षण गर्दा १ करोड ४५ लाख २२ हजार बेरुजु देखिएको छ । फलेवासको बेरुजु प्रतिशत १ दशमलव ०८ प्रतिशत छ ।
पर्वतमा सबैभन्दा कम बेरुजु पैयुँ गाउँपालिकामा रहेको छ । पैंयुमा ६६ करोड ६९ लाख ४५ हजार रुपैयाँको लेखापरिक्षण गर्दा २१ लाख १२ हजार मात्र बेरुजु देखिएको छ । पैयुँको बेरुजु प्रतिशत ० दशमलव ३२ प्रतिशत छ ।
पर्वतमा पैंयुपछि मोदी गाउँपालिकामा कम बेरुजु देखिएको छ । मोदीमा १ अर्ब ३ करोड १९ लाख ९१ हजारको लेखा परिक्षण गर्दा ३८ लख ९३ हजार बेरुजु देखिएको छ । मोदीको बेरुजु शून्य दशमलव ३८ प्रतिशत छ । महाशिला गाउँपालिकामा बेरुजुको प्रतिशत शून्य दशमलव ४८ प्रतिशत छ । महाशिलामा ६२ करोड ३० लाख ६ हजारको लेखापरिक्षण गर्दा २९ लाख ८४ हजार बेरुजु देखिएको हो ।
यस्तै बिहादी गाउँपालिकाको बेरुजु प्रतिशत २ दशमलव १२ प्रतिशत छ । बिहादीमा ५५ करोड ६९ लाख ९२ हजार रुपैयाँको लेखापरिक्षण गर्दा १ करोड १७ लाख ९६ हजार बेरुजु देखिएको छ ।
यस्तै जलजला गाउँपालिकामा १ दशमलव ०६ प्रतिशत बेरुजु देखिएको छ । जलजलामा ९३ करोड ६८ लाख ४६ हजार रुपैयाँको लेखापरिक्षण गर्दा ९९ लाख २६ हजार बेरुजु देखिएको छ ।
महालेखापरीक्षकले सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लाका सम्पूर्ण पालिकाहरूमा गत आर्थिक वर्षको तुलनामा बेरुजु घटेको देखिएको छ । देशभरका स्थानीय तहको औसत बेरुजु प्रतिशत ५ रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्