तपाईँ सुन्दै हुनुहुन्छः

काबुल उद्धार उडान रोकिहाल्न नहुने नेदरल्याण्डको भनाइ

अफगान तालिबान समूहको नियन्त्रणमा आइसकेको अवस्थामा अफगानिस्तानमा आफ्ना र अफगानिस्तानी केही नागरिक छोडेमा यसको असर ‘भयानक’ हुने नेदरल्याण्डले बताएको छ । 

तालिबानद्वारा अफगान राजधानीमा कब्जा भएपछि विकसित घटनाक्रमले तत्काल उद्धार उडान रोक्न नहुने नेदरल्याण्डका अधिकारीको तर्क छ । विकसित पछिल्लो परिस्थितिका कारण काबुलको विमानस्थलमा असुरक्षा बढेको भन्दै अमेरिकाले उद्धारमा रहेका डच अधिकारीलाई काबुल छोड्न आग्रह गरेको प्रधानमन्त्री मार्क रूटले पुष्टि गर्नुभएको छ । 

उहाँले भन्नुभयो, “अगष्ट ३१ मा अमेरिकी सेना फिर्ता हुनुभन्दा अगावै अमेरिकी सेनाले डचलाई काबुल विमानस्थल छाड्न आदेश दिएको छ । यसले सुरक्षा स्थिति चिन्ताजनक रहेको बुझ्न सकिन्छ ।” 

रूटले एनओएस टेलिभिजनसँग भन्नुभयो, “अमेरिकी अधिकारीहरूले हामीलाई आफ्नो काम सिध्याउन भनेका छन् । यो चिन्ताजनक कुरा हो ।” “वास्तविकता के हो भने हामी तत्कालको लागि उद्धारको अवश्यकता रहेका डच नागरिक र उनीहरूका परिवार वा अन्य मानिसहरूलाई ल्याउन असमर्थ छौँ ।” 

काबुल तालिबानको कब्जामा गएदेखि नेदरल्याण्ड्सले एक हजार ५०० व्यक्तिहरूलाई उद्धार गरेको छ । काबुलमा रातारात विमानस्थलमा बसमार्फत् पुगेका थप ११८ जना स्थानीय समय अनुसार सकुशल नेदरल्याण्ड पुगेका छन् । 

अफगानिस्तानमा उद्धार गर्न बाँकी डच मानिसहरूको सङ्ख्या अहिलेसम्म ‘स्पष्ट छैन’ उहाँले भन्नुभयो । “तालिवान समूहको धम्कीका कारण गएको केही घण्टामा विमानस्थलको अवस्था नराम्ररी खस्किएको छ । मानिसहरू आत्तिएका छन् ।” 

“डचहरू फ्रान्स र बेल्जियमसँग सम्पर्कमा थिए तर उनीहरूले पनि उद्धार कार्य रोक्ने घोषणा गरेका छन् । बेलायत र जर्मनीले अरू के गर्न सकिन्छ भनी हेरिरहेको छन् ।” 

डच सरकारले काबुलबाट “सबै सम्भाव्यताबीच आज अपरान्ह्सम्म अन्तिम उडान भर्ने” घोषणा गरेको छ ।विदेश मन्त्री सिग्रिड काग र रक्षा मन्त्री अङ्क बिज्लेभदले संसदलाई लेखेको पत्रमा भन्नुभयो, “यो एउटा पीडादायी क्षण हो किनभने यसको मतलब हालैका सबै प्रयासको बावजुद नेदरल्याण्ड्समा उद्धारका लागि योग्य मानिसहरू छुट्नेछन् ।” काबुल विमानस्थलमा डच राजदूतावास र ९० शक्तिशाली सैन्य टोली पनि बिहीबारको अन्तिम विमानमा उड्ने बताइएको छ । 

आकस्मिक अवस्थामा एउटा सी–१३० हर्कुलिज त्यस क्षेत्रमा रहने छ ।अगस्त ३१ भन्दा अगाडि अमेरिकी सेनाको ठूलो सङ्ख्या तथा उपकरणहरूलाई अफगानिस्तानबाट फिर्ता गर्न लागिएकाले अमेरिकाले सहयोगी अन्य राष्ट्रलाई काबुल छोड्न भनेको डच अधिकारीले बताएका छन् । एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button