‘बागमती प्रदेश गतिविधि’ कार्यक्रम प्रसारण सम्बन्धी सम्झौता

मकवानपुर । रेडियो नेपाल र बागमती प्रदेश सरकारबीच “बागमती प्रदेश गतिविधि” कार्यक्रम प्रसारण सम्बन्धी सम्झौता भएको छ ।
बिहीबार बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेको उपस्थितिमा प्रदेश सरकारका विकास निर्माण, सार्वजनिक सेवा र प्रदेशका महत्त्वपूर्ण गतिविधि समेटिएको कार्यक्रम प्रसारण गर्ने सम्बन्धमा सम्झौता भएको हो ।
सम्झौता पत्रमा रेडियो नेपालका निर्देशक खगेन्द्र खत्री र बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेलले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार रेडियो नेपालबाट हरेक बुधवार बिहान ८ः१५ बजे “बागमती प्रदेश गतिविधि” नामक २० मिनेटको कार्यक्रम प्रसारण हुने छ ।
सम्झौता समारोहमा आन्तरिक मामिला तथा कानुन मन्त्री पाण्डेले प्रदेश सरकारले गरेका विभिन्न गतिविधिका बारेमा जनतालाई जानकारी प्रदान गर्न र सरकारलाई पारदर्शी बनाउन कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
रेडियो नेपाल सबैको पहुँचमा पुग्ने हुँदा सरकारले गरेका कामका बारेमा जनतालाई सुसूचित गर्न कार्यक्रम प्रभावकारी साबित हुने उहाँको भनाई थियो । सो अवसरमा सचिव भुजेलले प्रदेश सरकार र जनता बीचमा कार्यक्रमले पुलको काम गर्ने बताउनुभयो ।
उहाँले सरकारलाई रचनात्मक सहयोग पुगोस् भन्ने उद्देश्यका साथ रेडियो नेपालसँग कार्यक्रम प्रसारण सम्बन्धी सम्झौता गरिएको बताउनुहुँदै यसबाट सरकारलाई पारदर्शी, जनताप्रति उत्तरदायी बनाउनुका साथै सूचनाको हक प्रबद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।

प्रविधिमार्फत सरकारका गतिविधिका विषयमा प्रदेशवासीलाई जानकारी दिन रेडियो कार्यक्रम फलदायी हुने बताउनुहुँदै रेडियो कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
सम्झौता समारोहमा बोल्नुहुँदै रेडियो नेपालका निर्देशक खगेन्द्र खत्रीले रेडियो नेपालको पहुँच सबै नागरिकसम्म पुग्ने हुँदा अधिकतम श्रोता लाभान्वित हुने बताउनुभयो ।
प्रदेश सरकारले गरेका हरेक क्रियाकलाप तथा गतिविधिलाई जनतासम्म पुर्याउन कार्यक्रमलाई उपलब्धि मूलक बनाइने उहाँको भनाई थियो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव नारन प्रसाद पोखरेल, रेडियो नेपालका मुख्य व्यापार अधिकृत पियुष कुमार श्रेष्ठ लगायतको सहभागिता थियो ।









प्रतिक्रिया राख्नुहोस्